
काठमाडौं । गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’को प्रसारण शनिबारदेखि सुरु भएको छ । दर्शकले प्रत्येक साताको शनिबार र आइतबार राती ९ बजे यो शोलाई प्राइम टाइम टिभीमा हेर्न पाउनेछन् ।
रिल्स इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै शो सुरु भएको जनाएको छ । नेपालको मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले शो निर्माण गरिएको जनाइएको छ ।
शोमा जजको भूमिकामा गायिका त्रिशला गुरुङ, संगीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल छन् । जजमध्येका एक पोखरेलले चल्तीका शोमा भन्दा केही नियम यसमा भिन्न रहेको बताए ।
उनले भने, ‘कतिपय रियालिटी शोमा गायन क्षमता भएता पनि भोटिङका कारण प्रतियोगी बाहिरिनुपर्ने हुन्छ । तर, अन्तिम १४ मा रहेका प्रतियोगीको गायन क्षमता हेरेर भोटिङका कारण प्रतियोगिताबाट बाहिरिए पनि हामी गीत निकाल्ने अवसरको सिर्जना गर्नेछौँ । यसकारण पनि अन्य भन्दा यो प्रतियोगिता फरक छ ।’
सङ्गीतकार पोखरेलले यस्ता मंचले नयाँ प्रतिभालाई अवसर सिर्जना गर्नेमा जोड दिए । कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोदकुमार भण्डारी र निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुङ्गाना, र नभराज चौलागाईं छन् । कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन् ।
प्रतिक्रिया 4