
५ माघ, जनकपुरधाम । बलिदानी दिवसको अवसरमा मधेश सरकारले आयोजना गरेको कार्यक्रममा शहीद परिवारहरूले आक्रोश पोखेका छन् । गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेश शहीद प्रतिष्ठानले जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजन गरेको सातौं बलिदानी दिवसमा केही परिवारले खादा र आउनेजाने भाडा स्वरुप दिएको रकम फालेका हुन् ।
शहीद तथा घाइते परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै भाडाबापत एक हजार रुपैयाँ दिंदा उनीहरू आक्रोशित बनेका हुन् । केही शहीद परिवारले दोसल्ला र रकम फाले ।
मधेश सरकारले बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका प्रतिसहिद परिवार ३ लाख, गम्भीर घाइतेहरूलाई दुई लाख, घाइतेहरूलाई १ लाख ५० हजार र एकलाख दिने निर्णय गरेको छ । सो कार्यक्रममा शहीद परिवार तथा घाइतेलाई एक हजार मात्र दिएको लागेपछि उनीहरू दोसल्ला र रकम फालेर आक्रोश पोखेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले निर्णय भए बमोजिमको रकम खातामा पठाउने र आवतजावतको खर्च मात्र एक हजार दिएको प्रष्ट पारेपछि उनीहरू शान्त भएका थिए ।
उनले शहीदको बलिदानले नै देशमा संघीयता आएको र धेरै अधिकार अझै नपाइएको बताए ।
‘शहीदको बलिदानीका कारण देशमा संघीयता आएको छ । धेरै उपलब्धिहरू भएका छन्’ उनले भने, ‘संविधानमा धेरै अधिकारको सुनिश्चित गरिएकोे छ, तर अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं । ठूला उद्योगहरू हामी सञ्चालन गर्न पाउँदैनौं, किनकि यसको संघ सरकारबाट स्वीकृति पाउने नीति छ ।’
उनले मधेश सरकारलाई खडा गरे पनि हात, खुट्टा, मुख संघ सरकारले बाँधेर राखिदिएको गुनासो गरे ।
शहीद परिवार तथा घाइतेहरूका लागि सरकारले चालु आर्थिक वर्षमा ३ करोड ६१ लाख रुपैयाँ छुट्याएको जनाए । शहीद परिवारका लागि बीमा कार्यक्रम तथा बच्चाहरुको उच्च शिक्षाका लागि छात्रवृत्तिको कार्यक्रम पनि समेत अघि सारिएको मुख्यमन्त्री सिंहले बताए ।
कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवाल, शिक्षा मन्त्री रानी शर्मा तिवारी सहितको सहभागिता थियो ।
प्रतिक्रिया 4