
काठमाडौं । अभिनेता आर्यन सिग्देल यतिबेला व्यस्त अभिनेतामध्ये एक हुन् । बीचमा कतै अलमलिएको उनको फिल्म करिअर यतिबेला लयमा फर्किएको देखिएको छ । उनले एकपछि अर्को फिल्म साइन गरिरहेका छन् ।
आइतबार उनले ऋषि लामिछानेले निर्देशन गर्ने आगामी फिल्म ‘माग्ने राजा’ साइन गरे । उनलाई फिल्मको एक महत्वपूर्ण भूमिकामा कास्ट गरिएको जनाइएको छ । निर्माता मुनाल घिमिरे र अभिनेता सिग्देलले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।
‘हामीले केदार घिमिरेपछिको एक महत्वपूर्ण रोलमा उहाँलाई अनुबन्धित गरेका छौं,’ निर्देशक लामिछानेले अनलाइनखबरसँग भने । स्रोतका अनुसार दिनेश राउतको ‘महाभोज’पछि सिग्देलले यो फिल्मको छायांकन गर्नेछन् ।
‘माग्ने राजा’को कुरा गर्दा, यो फिल्ममा यसअघि केदार घिमिरे, वर्षा सिवाकोटी, शिशिर बाङ्देल, पवित्रा साँखी लगायत अनुबन्धित भइसकेका छन् । फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् । दीपक शर्माको संगीत र सामीप्य तिमिल्सेनाको पटकथा लेखन हुनेछ ।
फागुन १ देखि यो फिल्मलाई काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटमा छायांकन गर्ने तयारी रहेको निर्देशक लामिछानेले जनाए । फिल्मको कथावस्तुबारे निर्देशक लामिछानेले भने, ‘यसको कथा पैसाले मान्छेलाई कता लैजान्छ भन्नेमा हो । सदुपयोग भए प्रगति र दुरुपयोग भए दुर्गतिको कथा यसमा हुनेछ ।’
आरम्भ फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा अन्य केही कलाकार पनि अनुबन्धित हुन बाँकी रहेको जनाइएको छ ।
प्रतिक्रिया 4