
६ माघ, जनकपुरधाम । मधेश सरकारको चालु आर्थिक वर्ष २०८१।०८२ को बजेट वक्तव्य संशोधन गर्न प्रदेशसभामा संकल्प प्रस्ताव पेश भएको छ ।
उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको बजेट वक्तव्यको १४७ नम्बर बुँदाको बाधा फुकाउन संकल्प प्रस्ताव आज मधेश प्रदेशसभामा पेश गरेको हो ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख छ । सत्ता गठबन्धन दल लोसपाकी प्रदेश सांसद रुपाकुमारी यादवले सदनमा संकल्प प्रस्ताव पेश गरेकी हुन् ।
प्रस्तावकको समर्थकमा नेकपा एमालेबाट पल्टी देवी महरा, काँग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा छन् । यस मध्ये एकीकृत समाजावदी र राप्रपा बाहेक सबै सत्ता गठबन्धन घटक दल हुन् ।
गत पुस २९ गते संकल्प प्रस्ताव सदनमा दर्ता भएको थियो। सभामुखबाट सैद्धान्तिक सहमतिपछि आज प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरिएको हो ।
संकल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गर्ने उल्लेख छ । संकल्प प्रस्तावमाथि प्रदेशसभामा छलफल हुँदैछ ।
प्रतिक्रिया 4