
६ माघ, काठमाडौं । समाजशास्त्री डोरबहादुर विष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’ को नेपाली अनुवाद हुने भएको छ ।
विष्टको ९८ औँ जन्मदिवसको अवसर पारेर किताबलाई नेपाली भाषामा प्रकाशन गर्न बुक हिल पब्लिकेशन र डोर बहादुर विष्ट फाउण्डेसनबीच सम्झौता भएको हो ।
अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपाली भाषामा रुपान्तरण गर्नेछन् । किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ ।
प्रकाशक संस्था बुक हिलका प्रतिनिधि भुपेन्द्र खड्काले किताब चैतसम्ममा बजारमा ल्याइसक्ने जानकारी दिए । अनुवादक अनुपमले आफू डोरबहादुर विष्टबाट प्रभावित भएको हुँदा उनीसँग अनुवादकको रूपमा जोडिन पाउँदा खुसी भएको बताए ।
डोरबहादुर विष्टका सुपुत्र एवंम पूर्वमन्त्री केशरबहादुर विष्टले बुवाकाबारे विदेशका विश्वविद्यालयहरूमा डिपार्टमेन्टकै नाम रहन गएको भन्दै समाजशास्त्र एवंम् मानवशास्त्र पढ्ने विद्यार्थीले अनिवार्य पढ्नुपर्ने बताएका छन् ।
उनले आम नेपाली भाषाका पाठकसमक्ष पुग्न यस नेपाली भाषाको किताबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेसमान गुरुङले आफूले विष्टसँग लामो समय काम गरेको अनुभव सुनाउँदै उनी पठनमा उन्मुख गराउने व्यक्ति रहेको स्मरण गरे ।
डोर बहादुर विष्टको जीवनसँग सम्बन्धित डकुमेन्ट्री ‘म अलप हुन चाहन्छु’ समेत देखाइएको थियो ।
प्रतिक्रिया 4