+
+

भ्रष्टाचार नियन्त्रण गर्न सरकार निर्मम भएर लागेको छ : ज्ञवाली

विपक्षी मोर्चाले अहिले भ्रष्टाचार बढेको आरोप लगाएका बेला सरकारको नेतृत्वकर्ता दल एमालेका सहमहासचिवले भ्रष्टाचार रोक्न सरकार निर्मम भएर लागेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १९:०५

६ माघ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार भ्रष्टाचारीविरुद्ध निर्मम भएर लागेको बताएका छन् ।

भ्रष्टाचार गर्ने व्यक्तिले जुनसुकै पार्टीसँग आबद्ध भएको भए पनि एमाले नेतृत्वको वर्तमान सरकारले कारबाहीको दायरमा ल्याएरै छाड्को उनको भनाइ छ ।

नेकपा (एमाले) पर्वतले आइतबारदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप भएको जिकिर गरे ।

दुई दिनअघि मात्र विपक्षी दलहरूको मोर्चाले साझा विज्ञप्ति जारी गर्दै वर्तमान सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले भ्रष्टाचार बढाएको आरोप लगाएको थियो । अघिल्लो सरकारले अनुसन्धानका क्रममा खोलेका भ्रष्टाचारका फाइल बन्द गरेको तथा भ्रष्टाचारमा फसेका आफ्नालाई जोगाउन सरकार लागि परेको आरोप मोर्चाले लगाएको थियो ।

एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको एमाले पर्वतले जनाएको छ । प्रशिक्षणमा एक सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी छन् ।

प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्म टिक्ने दाबीसमेत गरे ।

सरकार सङ्कटमा पर्‍यो, अब छिट्टै ढल्छ भन्ने कुरा विपक्षीको छटपटी मात्र भएको उनको भनाइ छ । ‘सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो,’ उनले भने ।

सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ छ । सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको भन्दै उनले सरकारको आयुसँग अध्यादेशको सम्बन्ध नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?