+
+

केयूको उपकुलपति छनोट विवाद : समितिले माग्यो सिनेटको चिठ्ठी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते २०:४५

६ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अन्योल भएको छ । ४ माघमा केयूको सभाले कार्यविधिका पुनर्विचार गर्न समितिलाई निर्देशन दिएको थियो । सभाबाट औपचारिक पत्र नआएकाले के गर्ने भन्ने अन्योलमा छनोट समिति छ ।

‘सभाबाट औपचारिक पत्र आएको छैन । आज पत्र आउला भन्ने थियो, आएन,’ छनोट समितिका सदस्य जनार्दन नेपालले भने । सभाको पत्र आएपछि के गर्ने भनेर निर्णय गरिने उनले बताए ।

छनोट समितिले २ माघमा १६ जनाको नाम स्वीकृत गरेर सार्वजनिक गरेको थियो । केयू स्रोतका अनुसार १६ जनाको नाम सार्वजनिक भएपछि कार्यविधिमा पुनर्विचार गर्न समितिले रुचि देखाएको छैन ।

केयूका मेडिकलका डाक्टरहरूले उपकुलपतिका लागि आवेदन दिन नपाएपछि सर्वोच्च अदालतसँगै प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई निवेदन दिएका थिए ।

तर अदालतले डाक्टरहरूको पक्षमा आदेश दिएन ।

र, केयूका कुलपति ओलीले सबैलाई समावेश गर्न पाउने गरी कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएका हुन् । तर अदालतबाट आएको फैसलालाई आधार मानेर कार्यविधिमा पुनर्विचार नगर्ने पक्षमा छनोट समिति देखिएको हो ।

तर डाक्टरहरू कुलपतिको निर्देशन बमोजिम कार्यविधि परिमार्जन हुनुपर्ने बताउँछन् । ‘हामीले उपकुलपति हुनु पर्‍यो भनेको छैन । आवेदन दिन पाउनु पर्‍यो भनेका हौँ । आवेदन दिनबाट रोकिएको कार्यविधि परिमार्जन हुनुपर्छ,’ केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्रा.डा. सुविन्द्र कार्कीले भने ।

कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको छ । यो व्यवस्थामा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिने डाक्टरहरूको भनाइ छ । मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यतालाई कार्यविधिमा समेट्न डाक्टरहरूले माग गर्दै आएका छन् ।

उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल आइतबार सकिएको छ । २०७७ मा प्रा.डा. थापा उपकुलपति बनेका थिए । अब केयूले नयाँ उपकुलपति कहिले पाउने हो अन्योल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?