+
+

१० जना स्रष्टालाई २०८० सालको ‘नइ पुरस्कार’ दिइने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते १५:०१

७ माघ, काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त १० जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

उनका अुनसार नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र सम्वर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।

यस्तै नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ ।

यस्तै नेपाली भाषा साहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्‍याएको विशिष्ट योगदानका निम्ति प्रा.गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको उनले बताए ।

नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सम्वर्धनका लागि निष्ठावान् प्रा.डा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको उनको भनाइ छ ।

स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाएबापत न्युरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावी पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यसै गरी सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउनसमेत महत्त्वपूर्ण योगदान दिएबापत श्री कमल प्रधान तथा श्री ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने भएको छ ।

नेपाली भाषामा बालसाहित्यका विविध विधाहरूको सिर्जनाका साथै बाल चेतनाको संवर्धनका निम्ति श्रीमती रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सम्वर्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका श्री शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यसैगरी राजधानीबाहिर रही नेपाली भाषासाहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका श्रीमती राधिका गुरागाईंलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी सबै पुरस्कारको राशि जनही एकएक लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?