+
+

नेपालमा विद्यार्थी आन्दोलनको रूपान्तरण

नेपालको राजनीतिमा अझै पनि वृद्ध पुस्ता नै हावी छ । उनीहरूकै सोच र चिन्तनले देश चलेको छ । युवाले आफ्नो उपस्थिति र हस्तक्षेप बढाउन सकेको देखिन्न ।

श्याम रोका श्याम रोका
२०८१ माघ ८ गते १०:२९

नेपालका हरेक आन्दोलनमा निर्णायक भूमिका खेल्दै आएका युवा विद्यार्थी पछिल्लो समय मूलधारको राजनीतिबाट विरक्तिएर विदेश पलायनको मनस्थितिमा पुग्नु निकै दुःखद् छ । देशमा प्रजातन्त्र ल्याउने, पञ्चायत ढाल्ने, निरंकुश राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने कार्यमा विद्यार्थी र युवाको महत्वपूर्ण र हस्तक्षेपकारी भूमिका थियो ।

तर गणतन्त्र स्थापनापछि विकास र समृद्धिको यात्रामा युवाहरूको भूमिका र खबरदारी कमजोर भएर गयो । राजनीतिमा युवाहरूको आकर्षण घट्दा संघीयताको अभ्यासमा बाधा पुगिरहेको छ । गाउँबाट हिंडेका विद्यार्थी पढाइ सकेर गाउँ फर्कंदैनन्, विदेशतिर जान्छन् । गाउँमा अवसर सिर्जना गर्नेभन्दा पनि विदेशमा अवसर खोज्नेतर्फ विद्यार्थीको ध्याउन्न छ । परिणाम आज समग्र राष्ट्रले भोग्नुपरेको छ ।

एक हिसाबले आजका गाउँहरू वृद्धाश्रम जस्तो बनेका, सुनसान छन् । देशको अर्थतन्त्र शिथिल भएको छ । भ्रष्टाचार बढेको छ । विकास निर्माण कार्यमा दक्ष जनशक्तिको अभाव खट्किरहेकै छ । यो परिस्थिति आउनुमा मुख्य दोष राजनीतिक नेतृत्वकै छ । त्यससँगै दोषयुक्त राजनीतिमाथि प्रश्न गर्नुपर्ने कर्तव्यबाट विद्यार्थीहरू भाग्न खोजेको यथार्थलाई पनि नजरअन्दाज गर्न सकिंदैन ।

परिवर्तनका संवाहक

विद्यार्थीलाई परिवर्तनका संवाहक मानिन्छ । बंगलादेशमा केही समयअघि मात्रै युवा–विद्यार्थीले आन्दोलनको आँधीहुरी ल्याउँदा निरंकुश र तानाशाही सरकार ढल्यो । राष्ट्रपति भागेर विदेशमा शरण लिन बाध्य भइन् । नेपालमा विद्यार्थी आन्दोलनको स्वर्णिम इतिहास छ । तर विद्यार्थी आन्दोलनको भविष्य अन्योलमा छ ।

राणाहरूले नेपालमा शैक्षिक विकासमा उतिसाह्रो ध्यान दिएका थिएनन् । किनकि, उनीहरूलाई जनता सचेत हुँदा शासन गर्न गाह्रो पर्छ भन्ने लागेको थियो । हुनेखानेका छोराछोरी यतिबेला भारतमा गएर पढे । उनीहरूले नै संगठित रूपमा नेपालमा राणाशासन फाल्ने अभियान चलाएका थिए । अंग्रेजको उपनिवेशबाट भारतलाई स्वतन्त्र बनाउन सक्रिय भएका प्रवासी नेपाली विद्यार्थीहरू नेपालमा पनि प्रजातन्त्र ल्याएर तानाशाही शासन अन्त्य गर्नुपर्ने निष्कर्षमा थिए । मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, सभा–संगठनमा रोक लगायत राणाकालीन निरंकुशतालाई समाप्त गर्दै २००७ सालमा प्रजातन्त्र स्थापना गर्न उनीहरूको महत्वपूर्ण भूमिका रह्यो ।

२०१७ सालमा राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरेर निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरे । सबै प्रकारका राजनीतिक क्रियाकलापमाथि रोक लगाइयो । विद्यार्थी आन्दोलनहरू यसबाट प्रभावित भएको थियो । तर विद्यार्थीले प्रतिरोध जारी राखे ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना हुँदा पनि विद्यार्थीको भूमिका ठूलो थियो । यतिबेला देशको ठूलो युवा तथा विद्यार्थी तप्का पञ्चायत विरुद्ध आन्दोलनमा थियो । युवा–विद्यार्थीले त्यतिबेलै गणतन्त्र माग गरेका थिए । तर यो आन्दोलन सम्झौतामा गएर टुंगियो, जहाँ राजा संवैधानिक रूपमा बस्न तयार थिए । २०५२ सालमा नेकपा माओवादीले संविधानसभा, गणतन्त्र र धर्मनिरपेक्ष राज्य माग गर्दै सशस्त्र आन्दोलन सुरु गर्दा पनि युवा र विद्यार्थी वर्गको भूमिका जबर्जस्त थियो । ठूलो संख्या युवा–विद्यार्थी युद्धमा शहीद भए ।

२०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले असंवैधानिक रूपमा ‘कु’ गरेर सत्ता हातमा लिएको केही समयपछि सशस्त्र युद्ध गरिरहेको माओवादी र संसदीय राजनीतिमा सक्रिय कांग्रेस, एमाले लगायत दलहरूबीच १२ बुँदे सहमति भयो । निरंकुशता समाप्त हुनुपर्छ भन्ने सबैको माग थियो ।

युवा तथा विद्यार्थीले मिलेर संयुक्त आन्दोलन गरे । जनआन्दोलन सफल बनाउन उनीहरूको ठूलो भूमिका थियो । उनीहरू अग्रमोर्चामा रहे । जनआन्दोलनमा शहीद हुनेमध्ये अधिकांश युवा र विद्यार्थी नै थिए ।
देश आज गणतन्त्रमा छ, लेख्न र बोल्न स्वतन्त्रता छ । आफ्नो आवाज निर्धक्कसँग राख्न सकिन्छ । यस्तो स्वतन्त्रताको लाभ उठाएर देशलाई विकास र समृद्धिको बाटोमा लैजाने इच्छाशक्ति विद्यार्थी तथा युवामा हुनुपर्ने हो । तर, नेपालको राजनीतिमा अझै पनि वृद्ध पुस्ता नै हावी छ । उनीहरूकै सोच र चिन्तनले देश चलेको छ । युवाले आफ्नो उपस्थिति र हस्तक्षेप बढाउन सकेको देखिन्न ।

चुनौती

शैक्षिक सुधार वा सामाजिक रूपान्तरणको एजेन्डालाई नेपालका विद्यार्थी संगठनले प्राथमिकतामा राखेको देखिन्न । त्यहीकारण आम विद्यार्थी यस्ता संगठनमा जोडिन खासै रुचि देखाउँदैनन् । विगतमा लोकतन्त्र ल्याउने एजेन्डाले पनि विद्यार्थी संगठनलाई जोडेको थियो । तर आज, उनीहरू एजेन्डा र गन्तव्यविहीन छन् । समाजमा भएका विकृति, विसंगति विरुद्ध आवाज उठाउन उनीहरूले खासै बल गरे जस्तो देखिन्न । विद्यार्थी संगठनहरूबीच स्वस्थ वैचारिक बहसको कमी छ । आफू राम्रो र अरूलाई नराम्रो भनेर सत्तोसराप गर्ने प्रवृत्ति ज्यादा छ । स्पष्ट कार्यदिशा छैन । काम गर्नेभन्दा पद ओगट्ने प्रवृत्ति नेपालीको पहिचान जस्तै बनिसकेको छ । विद्यार्थी संगठनमा पनि यो हावी छ । प्रायः विद्यार्थी संगठनहरू पदप्राप्तिको आन्तरिक द्वन्द्व र गुटबन्दीबाट ग्रस्त छन् । मूल नेतृत्वको नियन्त्रणमा विद्यार्थी संगठनहरू रहेकाले उनीहरूको स्वतन्त्र पहिचान बन्न सकेको छैन । विद्यार्थीको वास्तविक चासो र आवश्यकताहरूको सट्टा पार्टीका सत्ता–शक्तिकेन्द्रित जोडघटाउमा विद्यार्थी आन्दोलन रुमल्लिएको छ ।

विद्यार्थी संगठनले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध स्थापित गरेर वैश्विक मुद्दामा आवाज उठाउन पनि पहल गर्नुपर्छ । जलवायु परिवर्तन, मानवअधिकार, आर्थिक समानता, लैंगिक समानता जस्ता मुद्दाहरूमा विश्वभरका नागरिकको ऐक्यबद्धता जरूरी हुन्छ ।

तोडफोड, हिंसात्मक प्रदर्शन र ढुंगामुढा गर्ने वर्गका रूपमा विद्यार्थीको गलत छवि बनेको छ । यसले संगठनहरूको प्रतिष्ठा धुमिल पारेको छ । शैक्षिक सुधार, पाठ्यक्रम सुधार, गुणस्तरीय शिक्षा, छात्र कल्याण जस्ता वास्तविक समस्यामा उनीहरूको पर्याप्त ध्यान गए जस्तो देखिन्न । दीर्घकालीन शैक्षिक सुधारमा ध्यान केन्द्रित गर्नुको साटो अल्पकालीन मुद्दामा उनीहरूको ध्यान छ ।

महँगी र भ्रष्टाचार बढ्दा विद्यार्थी सामूहिक आन्दोलनमा उत्रिएको देखिन्न । संविधानमाथि खतरा पैदा हुँदा पनि उनीहरू चिन्तित भएको देखिन्न । खासमा, अहिले मुख्य–मुख्य विद्यार्थी संगठनहरू मूल पार्टीका प्रचार संयन्त्र जस्तो देखिएका छन् । उनीहरूले नेतृत्वलाई खबरदारी गर्नुभन्दा पनि जयजयकार गर्नमै समय खर्चिएको देखिन्छ । वैचारिक प्रतिस्पर्धा शून्य जस्तो छ ।

कसरी अघि बढ्ने

विद्यार्थी संगठनहरूले समाजको वास्तविक समस्यामा ध्यान केन्द्रित नगरी सुखै छैन । विद्यार्थी आन्दोलनको मूल उद्देश्य केवल सत्ताको पक्षमा उभिनु मात्र होइन, समाजका विकृति र असमानताका विरुद्ध जुध्नु हो । भविष्यमा संगठनहरूले विशेष रूपमा शैक्षिक असमानता, बेरोजगारी, महिला अधिकार, दलित र जनजातिको हकको पक्षमा लड्नुपर्नेछ ।

साथै, लोकतन्त्र र मानवअधिकारको सम्बर्धन आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्नेछ । वर्तमान युग डिजिटलको हो र विद्यार्थी संगठनहरूले यसलाई पूर्ण रूपमा उपयोग गर्न आवश्यक छ । अनलाइन प्लेटफर्म, सोसल मिडिया र डिजिटल संवादको माध्यमबाट संगठनहरूले आफ्नो आन्दोलन र सन्देशलाई छिटो र प्रभावकारी रूपमा फैलाउन सक्छन् । उदाहरणका लागि ट्विटर, फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूले विद्यार्थी आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न र समर्थन जुटाउन मद्दत पुर्‍याउँछ ।

विद्यार्थी संगठनहरूले आफ्नो नेतृत्वलाई समावेशी बनाउनुपर्छ । जसमा सबै प्रकारका विचार र समुदायलाई सम्मानपूर्वक स्थान दिइन्छ । सबै विद्यार्थीलाई समान अवसर र प्रतिनिधित्व दिने काम गर्दै संगठनहरूले वैचारिक बहस र खुला संवादको माहोल सिर्जना गर्नुपर्नेछ । यसले संगठनहरूलाई थप गतिशील र शक्तिशाली बनाउनेछ ।

विद्यार्थी संगठनहरूले शैक्षिक सुधारका लागि निरन्तर आवाज उठाउनुपर्छ । देशको समग्र शैक्षिक प्रणालीमा सुधार ल्याउन सरकारसँग पहल गर्नुपर्छ । सबैको पहुँचमा गुणस्तरीय शिक्षा पुर्‍याउनका लागि पहल लिनुपर्छ । नेपालमा विशेषगरी दुर्गम क्षेत्र र विपन्न समुदायमा अझै पनि गुणस्तरीय शिक्षाको अभाव छ । स्कुल छाड्ने विद्यार्थीको संख्या ठूलो छ । यसमा सुधार ल्याउन विद्यार्थी संगठनहरू एकजुट भएर लाग्नुपर्छ । शैक्षिक सुधारका मामिलामा विभाजन होइन, सबै विद्यार्थी संगठनबीच एकताको खाँचो छ । समय सुहाउँदो प्राविधिक शिक्षाको पैरवी गर्नुपर्छ ।

युवाहरूको विदेश पलायनको समस्या विकराल छ । यसलाई समाधान गर्न विद्यार्थी एकजुट हुनैपर्छ । स्थानीयस्तरमा रोजगारी र अवसर सिर्जना गर्नका लागि संगठनहरू बीच हातमालो जरूरी छ । युवा शिल्पकला, उद्यशीलता, प्रविधिमा आधारित कार्यक्रम र रोजगारीका अवसरहरू सिर्जना गर्न युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ । शैक्षिक संस्थाहरू, सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै स्थानीयस्तरमा अवसर निर्माण गर्न आवश्यक छ ।

राजनीतिक प्रतिस्पर्धा, भ्रष्टाचार र अनियमितताको विरोध गर्दै विद्यार्थीले सुधारका लागि निरन्तर दबाब दिन जरूरी छ लोकतान्त्रिक प्रक्रिया र मूल्य–मान्यताको रक्षाका लागि विद्यार्थी दलीय स्वार्थको घेराभन्दा माथि उठ्नुपर्छ ।

विद्यार्थी संगठनले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध स्थापित गरेर वैश्विक मुद्दामा आवाज उठाउन पनि पहल गर्नुपर्छ । जलवायु परिवर्तन, मानवअधिकार, आर्थिक समानता, लैंगिक समानता जस्ता मुद्दाहरूमा विश्वभरका नागरिकको ऐक्यबद्धता जरूरी हुन्छ ।

(रोका अखिल क्रान्तिकारीको अध्यक्षका उम्मेदवार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?