
८ माघ, काठमाडौं। कर्णालीको हुड्केउली भाकाबाट प्रेरित नयाँ सांगीतिक सिर्जना ‘जदौ हजुर’ सार्वजनिक भएको छ ।
गीतलाई रतन देवकोटाले लेखन, संगीत, र गायन गरेका छन्। यस गीतले कर्णालीको दुःख, पीडा, र त्यहाँका जनताको जीवनका अपेक्षालाई उजागर गरेको छ ।
‘जदौ हजुर’ केवल एउटा सांगीतिक प्रस्तुति मात्र नभई कर्णालीका जनताको संघर्ष र यथार्थ उजागर गर्ने कलात्मक प्रयास हो। गीतका शब्दहरूले भोक, अभाव, र विभेदको कथा बोल्छन्।
‘झर्यो भुइँमा टोपी हजुर, निउरिँदा शिर
कस्लाई सुनाऊँ, कहाँ सुनाऊँ, कर्णालीको पीर।’
कर्णालीका भौगोलिक कठिनाइ, सरकारको उदासीनता, र जनताको निस्सहायतालाई गीतले प्रस्तुत गरेको छ।
गीतले छिमेकी देश चन्द्रमासम्म पुगेको तर कर्णाली अझै मोटरबाटो र औषधिको खोजीमा रहेको यथार्थलाई चित्रण गरेको छ।
‘छिमेकी देश चन्द्र पुगे, कति छ र दूरी?
थाकेको छ कर्णाली, सिटामोल कुरी।’
यस गीतले बाँझो खेतबारी, परदेशिएका युवाहरू, र कर्णालीको सामाजिक-आर्थिक अवस्थालाई मार्मिक रूपमा उजागर गरेको छ। गीतको संगीत र निर्देशनले कर्णालीको सांस्कृतिक र सामाजिक जीवनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरेको छ।
रतन देवकोटाले गीतलाई भावनात्मक र कलात्मक रूपमा सशक्त बनाएका छन्। भिडियामा कर्णालीको सांस्कृतिक बाजा, भेषभूषा, र हुड्केको प्रस्तुतिलाई केन्द्रमा राखिएको छ।
भिडियोका छायाँकार सौरभ लामिछाने हुन् भने संगीत संयोजन रोमी बस्नेतले गरेका छन्। हुड्के प्रस्तुतिमा रंगकर्मी मिलन कार्कीले जीवन्तता भरेका छन्।
यसअघि रतन देवकोटाले “हिरूलाल” नामक सांगीतिक फिल्म निर्माण गरेका थिए, जसले कर्णालीको कथावस्तुलाई समेटेको थियो।
यस्तै, ‘देश छोड्नेको लर्को’, ‘रूपस्या जौवन’, र आधा दर्जनभन्दा बढी गीतहरू निर्माण गरी सामाजिक यथार्थलाई उजागर गर्ने कार्य गरिसकेका छन्।
‘जदौ हजुर’ गीतले केवल मनोरञ्जन दिनुभन्दा बढी, कर्णालीको आवाज बनेर नीति निर्माताहरू र समाजलाई चेतना जगाउने अपेक्षा गरिएको छ।
भिडियो रतन देवकोटाको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।
प्रतिक्रिया 4