+
+

सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी, २० वटा मुद्दाका आरोपित युवक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आएका सुन, आइफोन छुटाउनेदेखि भन्सारले लिलाम गर्न लागेका स्कर्पियो, क्रेटा गाडीहरू समेत सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको खुलेको प्रहरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १७:२८

९ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरीदेखि भन्सारको ऐजेन्टसम्मको नक्कली परिचय दिँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– २ का ३५ वर्षीय कुशल ठकुरी भनिने दिनेश घिमिरे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आएका सुन, आइफोन छुटाउनेदेखि भन्सारले लिलाम गर्न लागेका स्कर्पियो, क्रेटा गाडीहरू समेत सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको खुलेको छ ।

विश्वासमा पारेपछि उनले आफ्नो बैंक खातामा रकम हाल्न लगाएर एक करोड रुपैयाँ बढी ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यो शैलीमा ठगी भएको भन्दै ११ वटा उजुरीसमेत परेको आचार्यले बताए । ठगीको उजुरी परेपछि २० असोजमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

यो भन्दाअघि ठगी तथा बैंकिङ कसुर गरी उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको पाइएको एसपी आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?