+
+

कालीमाटीमा भित्रिएको हरियो सिमी खान अयोग्य भएपछि ‘होल्ड’

कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको हरियो सिमीमा खान अयोग्य हुने रसायन भेटिएपछि ‘होल्ड’ गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १९:४२

९ माघ, काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको हरियो सिमीमा खान अयोग्य हुने रसायन भेटिएपछि ‘होल्ड’ गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरेर ‘र्‍यापिड रेसपोन्स टिम’ मार्फत अनुगमन गर्दा हरियो सिमीको एउटा नमुनामा खान अयोग्य रसायन फेला परेको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार चितवनका एक तरकारी व्यवसायीले उत्पादन गरेको ११४ केजी हरियो सिमीमा ४२ प्रतिशतसम्म ‘इन्जाइम इन्हिबिसन’ पाइएको हो । अब उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइनमा होल्ड गर्न लगाएर पुनः परीक्षण पश्चात मात्रै बजारमा पठाइने छ ।

खाद्य सुरक्षाको मापदण्ड बमोजिम इन्जाइम इन्हिबिसन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिबिसन भएकोलाई क्वारेन्टाइनमा होल्ड गरी पुनः परीक्षण गरिने र ४५ प्रतिशतभन्दा बढी आएमा नष्ट गरिने प्रावधान रहेको उनले बताए ।

२२ थरीका तरकारीको नमुना परीक्षण

विभागको टोलीले कालीमाटी बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेषबारे मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म अनुगमन र परीक्षण गरेको थियो ।

टोलीले ढुवानी गरिने साधनबाट नै नमूना संकलन गरेका थियो । अनुमगनको क्रममा आलु, प्याज, गोलभेँडा, काउली, बन्दा, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायोसाग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोडी, चम्सुर, भेन्टा, गाजर, हरियो सिमी,  सुन्तला लगायत २२ प्रकारका तरकारी फलफूलहरूका १५० वटा नमुना परीक्षण गरेको थियो ।

अनुगमनका क्रममा १०८ गाडीमा ल्याइएका तरकारी तथा फलफूलको स्याम्पल लिएर नमुना परीक्षण गरिएको विभागले जनाएको छ ।

फलफूल तथा तरकारीहरु नेपालको भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत विभिन्न २० जिल्लाबाट तथा एक वटा गाडी भारतबाट समेत आएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?