
९ माघ, काठमाडौं ।सरकारले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्तिका लागि मनोनीत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सहसचिव नेपाललाई वैकल्पिक कार्यकारी निर्देशकमा मनोनयन गर्ने निर्णय गरेको हो ।
एडीबीको वैकल्पिक कार्यकारी निर्देशकले फिलिपिन्स मनिलास्थि एडीबी मुख्यालयमा बसेर पूर्णकालीन भएर काम गर्ने छ । एडीबीको नेतृत्वमा बसेर काम गर्ने वैकल्पिक कार्यकारी निर्देशकको पदावधि २ वर्षको हुन्छ ।
यसअघि तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई सरकारले २०७३ सालमा वैकल्पिक कार्यकारी निर्देशक बनाएर पठाएको थियो । तर, बीचमै उनलाई फिर्ता बोलाएर २०७५ सालमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रामशरण पुडासैनीलाई उक्त पदमा पठाइएको थियो ।
त्यसपछि नेपालले वैकल्पिक कार्यकारी निर्देशक पठाउने पालो अहिले पाएको हो । अब सन् २०२८ मा मात्रै यस्तो पालो नेपालले पाउने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका सहसचिव नेपाल लामो समय अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख भएर काम गरेका थिए ।
प्रतिक्रिया 4