+
+

वीरेन्द्रनगरलाई समावेशी सहर बनाउँछौं : मेयर ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १३:२७

१० माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई समावेशी सहर बनाइने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले ‘सिटी फर वुमेन’को सहयोगमा सहरलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण गरी समावेशी सहर बनाइने वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले बताइन् ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर ढकालले सहरहरू सबैका लागि अवरोधमुक्त, अवसरयुक्त, हरित र विभेदरहित हुनुपर्ने बताइन् । त्यसका लागि वीरेन्द्रनगरले चौतर्फी सुधारका प्रयास थालेको उनको भनाइ छ । ‘हामीले अब बन्ने प्रत्येक भौतिक संरचनालाई सबैको पहुँचयुक्त बनाउने छौं,’ मेयर ढकालले भनिन्, ‘हाम्रा खुल्ला र सार्वजनिक क्षेत्रहरूलाई महिला मैत्री बनाइरहेका छौं ।’

मेयर ढकालले सहरहरू अवरोध र असमानताका केन्द्र बन्न नहुने बताइन् । ‘सहर अवसरका ढोका हुनुपर्छ । उमेर, जात, वर्ग, लिङ्ग र शारीरिक अवस्थाको विविधता आत्मसात् गर्दै सबै अटाउने समावेशी बन्नु पर्छ’, उनले भनिन्, ‘त्यसका लागि हामी जग हाल्ने काम गरिरहेका छौं । आवश्यक नीति निर्माण गर्नेदेखि त्यो सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं ।’

वीरेन्द्रनगरले भौतिक पूर्वाधार विकास मात्र नभइ मानव विकासलाई पनि उत्तिकै प्राथमिकता दिइएको ढकालले बताइन् । ‘हामीले निर्माण गर्ने पूर्वाधारहरूलाई महिला, अपाङ्गता भएका, बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि सहज पहुँच योग्य बनाएका छौं,’ उनले भनिन् ।

महिला मैत्री सहर, नेपालमा समावेशीकरण र जलवायु उत्थानशील सहरीकरण परियोजनाले वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मेयर ढकालले नगरपालिकाले सार्वजनिक/सरकारी जमिनको खोजी कार्य थालेको बताइन् ।

सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष समेत रहेकी मेयर ढकालले वीरेन्द्रनगरको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नीति लिएको बताइन् । वीरेन्द्रनगरको धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनाहरू हटाएर अहिले ती क्षेत्रहरूमा खुल्ला पार्क निर्माण थालिएको उनको भनाइ छ । ती पार्कहहरु महिला, बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकमैत्री रूपमा निर्माण गर्न थालिएको मेयर ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?