+
+

घिसिङ अध्यक्ष रहेको अपर तामाकोसीको बोर्डमा पुगेन ‘कोरम’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १३:०४
फाइल तस्वीर

१० माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अध्यक्ष भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको बैठक ‘कोरम’ नपुगेर स्थगित भएको छ ।

मंगलबारका लागि डाकिएको बैठकमा बहुमत सदस्य अनुपस्थित भएपछि हुन नसकेको प्राधिकरण स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

अपर तामाकोसी जलविद्युत् आयोजना निर्माण गर्ने यो कम्पनी विद्युत् प्राधिकरणकै ‘सब्सिडायरी’ हो । कम्पनीमा अध्यक्ष घिसिङ बाहेक तीन जना उपकार्यकारी निर्देशक सञ्चालक छन् ।

त्यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक, कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक पनि सञ्चालक समिति सदस्य हुने प्रावधान छ । सर्वसाधारण सेयरधनीका तर्फबाट चार जना सञ्चालक बोर्डमा रहन्छन् ।

नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानका प्रतिनिधि स्थायी आमन्त्रित सदस्यका रूपमा बोर्डमा रहन्छन् ।

१० जनाको बोर्डमा ६ अनुपस्थित भएपछि सञ्चालक समिति बैठक नै बस्न नसकेको प्राधिकरण स्रोतको भनाइ छ ।

घिसिङलाई ऊर्जा मन्त्रालयले किन पदमुक्त नगर्ने भनेर स्पष्टीकरण सोधिसकेको अवस्थामा बोर्ड सदस्यहरू बैठकमा आउन नमानेको स्रोत बताउँछ ।

मंगलबारको बैठकमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, विद्युत् प्राधिकरणकै तीन उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, लोकहरि लुइँटेल र मदन तिम्सिना, सञ्चालकहरू राजन श्रेष्ठ र दीपक कार्की उपस्थित नभएको स्रोतले बतायो ।

बाढीले क्षतिग्रस्त अपर तामाकोसी जलविद्युत् आयोजना मर्मत ठेक्का प्रक्रिया नपुर्‍याइ दिइएको र त्यसको भुक्तानी सम्बन्धी एजेन्डा बोर्ड बैठकमा ल्याइएकाले पनि सञ्चालकहरूले बैठक बस्न नमानेको स्रोतको भनाइ छ ।

‘प्रतिस्पर्धा छल्न कामलाई टुक्रा–टुक्रामा विभाजन गरी आफूखुसी ठेक्का दिइएको छ । त्यसरी दिएको ठेक्काको भुक्तानीको एजेन्डामा धेरै सदस्यको असहमति देखिन्छ,’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?