
काठमाडौं । टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपिटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज शरणम’ले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टरमा सीताराम कट्टेल ‘धुर्मुस’सहित विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, कमलमणी नेपाल, अर्पण थापालाई चित्रण गरिएको छ । कट्टेल नेता शैलीमा अभिवादन गरेको लुक्समा छन् ।
पोस्टर सार्वजनिक भएसँगै उनको लुक्स पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमसँग मिल्दोजुल्दो देखिएको चर्चा भैरहेको छ । सामाजिक संजाल प्रयोगकर्ताले आलमको भूमिकामा कट्टेल देखिएको हुनसक्ने अनुमान गरेका छन् ।
स्रोतका अनुसार फिल्मभित्र धुर्मुसको भूमिका कुनै राजनीतिज्ञको रुपमा छैन । उनी अफ्ताव आलमको भूमिकामा नदेखिएको स्रोतले जनायो । ‘धुर्मुसको चरित्र कुनै राजनीतिज्ञको रुपमा छैन । न त यो फिल्म तराईमा छायांकन गरिएको हो’ धुर्मुसले पूर्वमन्त्री आलमको रोल निर्वाह गरेको हल्लालाई खण्डन गर्दै स्रोतले भन्यो ।
फिल्ममा धुर्मुस शीर्षमध्येको एक भूमिकामा छन् । ‘उहाँ बलियो भूमिकामा हुनुहुन्छ’ स्रोतले भन्यो । पोस्टरमा अन्य कलाकारको समेत चरित्र चित्रण गरिएको छ । पोस्टरमा कथाको परिवेश स्थापना हुने गरि अन्य दृश्य पनि समेटिएका छन् ।
फिल्मको टिजर आगामी एकसाताभित्र ल्याउने तयारी छ । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), विजय लामा, रेणुनाथ योगी, माला लिम्बु लगायतले अभिनय गरेका छन् ।
फिल्मलाई डोल्पामा छायांकन गरिएको हो । नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सृजना खड्का सहनिर्माताको रूपमा छन् । फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । यो फिल्म शिवरात्रीको अवसरमा फागुन १४ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुने तयारीमा छ । अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ ।
प्रतिक्रिया 4