+

जनकपुर र काठमाडौं एक खेल अगावै एनकेएलको प्लेअफमा

२०८१ माघ  ११ गते १६:४० २०८१ माघ ११ गते १६:४०
जनकपुर र काठमाडौं एक खेल अगावै एनकेएलको प्लेअफमा

१० माघ, काठमाडौं । जनकपुर नाइट्स र काठमाडौं माभरिक्स लिग चरणको एक खेल खेल्नुअघि नै नेपाल कबड्डी लिग (एनकेएल) को प्लेअफमा प्रवेश गरेका छन् ।

बिहीबार आ-आफ्नो खेल जित्दै दुवै टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका हुन् । अब लिगको अन्तिम खेलमा पराजित भएपनि यी दुई टोली शीर्ष चारमा रहने पक्का छ । ६ टोली सहभागी एनकेएलमा शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन् ।

लिगमा एक्लो अपराजित टिम जनकपुरले खेलेको चारवटै खेल जितेको हो । लगातार चार जितपछि २० अंक जोडेर जनकपुर शीर्ष स्थानमा छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६-२९ ले हराएको थियो ।

यसैगरी धनगढी वाइल्डक्याट्सलाई ५१-३६ ले पराजित गर्दै तेस्रो जित हात पारेको काठमाडौं १६ अंकसहित दोस्रो स्थानमा छ । काठमाडौं विराटनगर ब्यान्डिट्ससँग मात्र पराजित भएको थियो ।

यी दुई टोलीबीच शीर्ष बन्ने होड कायम छ । शुक्रबार हुने दोस्रो खेलमा जनकपुर र काठमाडौं भिड्दैछन् । काठमाडौंलाई पराजित गरेमा जनकपुरले शीर्ष स्थानमा रहँदै सिधै क्वालिफायर वान खेल्नेछ ।

यस्तै काठमाडौं पनि जनकपुरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौंले जनकपुरलाई पराजित गरेमा भने शीर्ष दुईमा कुन कुन टिम रहने भन्ने निर्णय अन्य खेलको नतिजाबाट हुनेछ ।

शुक्रबारै पहिलो खेलमा विराटनगरले हिमालयन रेइडर्ससँग खेल्दैछ । यदि विराटनगर यस खेलमा पराजित भएमा जनकपुर र काठमाडौं दुवैलाई फाइदा पुग्नेछ ।

नेपाल कबड्डी लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय