
१३ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ ।
विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरुले गराएका थिए ।
अध्यक्षका उम्मेदवार विजय सापकोटाका प्रतिनिधि यादव ढुंगाना र रमेश खड्काले कालो मसीलाई पनि मान्यता दिनुपर्ने भनाइ राखेका थिए भने अर्का उम्मेदवार उपदेश यादव र हेमन्त राई पक्षका प्रतिनिधिहरुले त्यसको विरोध गरेका थिए । राति अबेरसम्म यसमै गलफत्ती परेपछि मतगणना रोकिएको हो । हेमन्त पक्षका प्रतिनिधि लोकेन्द्र ऐरी मतगणना स्थलबाटै बाहिरिएका थिए ।
उपदेश यादव पक्षकाले विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेशलाई आफ्नो आधार क्षेत्र ठान्ने गर्दछन् । त्यसैले रातो–कालो मसीको विवादमा उपदेश यादव पक्षले बढी विरोध जनाएको देखिन्छ ।
विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ । मधेश प्रदेशमा १९५ मत खसेको छ ।
मधेशमा उपदेशको सबैभन्दा धेरै मत
अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् । यसैगरी अर्का प्रत्यासी विजयप्रकाश सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले १ मत पाएका छन् ।
अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् ।
विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचन शनिबार बालमिकी विद्यापीठ प्रदर्शनीमार्गमा भएको थियो । मतगणना पनि सोही स्थानमा भइरहेको छ ।
प्रतिक्रिया 4