+
+

झुम्सा खानेपानी : ६ पटक म्याद थप्दा पनि पूरा भएन १३ किलोमिटर पाइपलाइन

बुटवलबासीलाई झुम्सा खानेपानी आयोजनाको सपना देखाएको ३० वर्ष नाघिसकेको छ । तर अझै पूरा भएको छैन । त्यसैले बुटवलबासी यसलाई ‘दोस्रो मेलम्ची’ भन्ने गर्दछन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ माघ १३ गते ९:१४

१३ माघ,बुटवल । बुटवलबासीका लागि ‘दोस्रो मेलम्ची’ जस्तै बनेको झुम्सा खानेपानी आयोजना ६ पटक म्याद थप्दा पनि पूरा भएको छैन । झण्डै २९ करोडको यो आयोजनाले पूर्णता नपाउँदा बुटवलमा शुद्ध र पर्याप्त खानेपानी सुविधाको सपनाले ३० वर्ष नाघिसकेको छ ।

२०५२/०५३ सालमै पाल्पाको झुम्सास्थित सिस्ने खोलाबाट बुटवलमा दैनिक सात लाख लिटर पानी ल्याउने योजना अघि सारिएको थियो । तर एक दशकपछि सिस्ने खोलाले बुटवलको माग नधान्ने ठहर गर्दै मुहान फेरियो ।

सिस्नेको सट्टा हालको तिनाउँ गाउँपालिका–३ मा रहेको गोरबन्दिझारबाट दैनिक ३ करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०६४/०६५ मा झुम्सा खानेपानी आयोजना अघि सारिएको थियो । त्यसका लागि खानेपानीको मुहान क्षेत्रमा बनाइएको ड्याम नै खोलाले बगाइदिएको थियो ।

त्यसपछि फेरि २०७७ साल जेठ २ गते झुम्सा खानेपानी आयोजनाको नयाँ ठेक्का सम्झौता भयो । त्यसको पनि ६ पटक म्याद थपिए पनि अझै पूरा भएको छैन । त्यसैले बुटवलबासी निजी क्षेत्रले ट्यांकर र जारमा बिक्री गर्ने पानीमा भर पर्न बाध्य छन् ।

बुटवलमा दैनिक ३ करोड लिटर खानेपानीको माग भए पनि आधामात्र आपूर्ति हुँदै आएको छ ।

ड्याम बन्यो, पाइप ओछ्याउने काम पूरा भएन

झुम्सा खानेपानी आयोजना अन्तर्गत दैनिक ३ करोड २० लाख लिटर पानी भण्डारण क्षमताको ड्याम निर्माणको काम पूरा भए पनि १३.५ किलोमिटर पाइपलाइन विस्तारको काम पूरा हुन सकेको छैन ।

२०७७ जेठ १९ मा ठेक्का सम्झौता भएको ड्याम निर्माणको काम २०७८ मंसिर १४ मै सम्पन्न भएको थियो । तर पाइपलाइन विस्तारमा ढिलाइ भएको आयोजना प्रमुख मन्दिप श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ड्याम निर्माणका लागि १४ करोड २४ लाख र पाइपलाइन विस्तारका लागि १४ करोड ४४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

‘ड्याम निर्माणको काम ठेक्का सम्झौताको अवधि अगावै पूरा भएको थियो तर पाइपलाइन विस्तारमा विभिन्न अवरोधहरु आउँदा ढिला भएको छ’ श्रेष्ठले भने, ‘छैठौं पटक थपिएको म्याद पनि गत असोजमा सकिएको छ, फेरि थप्ने तयारीमा छौं ।’

झुम्सा खानेपानी आयोजना निर्माणको ठेक्का कालिका एण्ड कन्काई जेभीले पाएको छ ।

पाइपलाइन विस्तार अन्तर्गत मुहानमा क्रंक्रिट पिल्लरमाथि तीन वटा ट्रस ब्रिज बनाउनुपर्ने छ । जसमध्ये ३६ मिटर लामो ट्रस ब्रिज निर्माण सम्पन्न भएको छ । ४६ मिटर तथा ५६ मिटरका ट्रस ब्रिज निर्माणकै चरणमा रहेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

कोरोना महामारी, सडक विभागबाट अनुमति लिन ढिलाइ र स्थानीयको अवरोध जस्ता कारणले पाइपलाइन विस्तार पूरा गर्न नसकिएको श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षभित्र पाइपलाइन विस्तार पूरा हुने विश्वास

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले तिनाउ गाउँपालिका ३ र ४ नम्बर वडाको संगम स्थल झुम्साबाट बुटवलको वडा नम्बर ३ लुम्बिनी केबलकारचोक रामफेदीसम्म पाइपलाइन विस्तार गर्ने छ ।

हालसम्म १२.६ किलोमिटर (९४ प्रतिशत) पाइपलाइन विस्तार पूरा भएको र कुनै अवरोध नभए चालु आर्थिक वर्षभित्र पाइपलाइन विस्तार पूरा गरेर पानी वितरणको काम शुरु हुने खानेपानी संस्थान बुटवल शाखा तथा झुम्सा खानेपानी आयोजनाका लेखा प्रमुख कैलाश दाहालले बताए ।

‘आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत भइसकेको छ, अब छिटै सातौंपटक म्याद थपेर चालु आर्थिक वर्षभित्रै काम पूरा गर्ने लक्ष्य छ’ दाहालले भने, ‘निर्धारित मितिमा काम पूरा हुन प्रभावित क्षेत्रका बासिन्दाको पनि साथ चाहिन्छ ।’

हाल खानेपानी संस्थान बुटवलले तिनाउ खोलाको पानी पम्पिङ गरेर तथा विभिन्न स्थानमा जमिन मुनिको पानी तानेर दैनिक एक करोड ६८ लाख लिटर पानी वितरण गरिरहेको दाहालले बताए । अहिले संस्थानले रामफेदी, लक्ष्मीनगरका दुईवटा र बेलबास गरी तीन स्थानका चार वटा रिजर्भवायर ट्यांकी, मिलनचोकको ओभरहेड ट्यांकी, २२ वटा डिपट्युबेल र चिडियाखोलाको इन्टेक ट्यांकीबाट पानी आपूर्ति गर्दै आएको छ । १७ हजार २ सय धारामार्फत् न्यूनतम २ घण्टादेखि अधिकतम चार घण्टासम्म पानी वितरण भइरहेको संस्थानको तथ्यांक छ ।

बुटवलमा दैनिक ३ करोड लिटर खानेपानीको माग छ । तिनाउ नदीबाट पम्पिङ गरेर दैनिक ९० लाख लिटर तथा अन्य स्रोतबाट दैनिक एक करोड ९० लाख लिटर पानी संस्थानले संकलन गरेर वितरण गर्दै आएको छ ।

‘झुम्साबाट तीन करोड २० लाख लिटर पानी रामफेंदीमा झरेपछि बुटवलको करिब तीन लाख जनसंख्यालाई माग अनुसार पर्याप्त पानी वितरण गर्न सकिन्छ’ संस्थानका लेखा प्रमुख दाहालले भने, ‘पर्याप्त पानी नहुँदा अहिले दैनिक २ घण्टादेखि ४ घण्टासम्म मात्रै पानी वितरण गरेका छौं, झुम्साको पानी आएपछि दैनिक ८ घण्टासम्म निरन्तर पानी वितरण गर्न सकिने अनुमान छ ।’

खानेपानी आयोजनाको मुहान क्षेत्र तिनाउ गाउँपालिका वडा नं ४ का पूर्व वडाध्यक्ष दानबहादुर गाहाले पानी वापत बुटवल उपमहानगरपालिकाबाट वार्षिक २ करोड र खानेपानी संस्थानबाट वार्षिक २५ लाख रुपैयाँका दरले तिनाउ गाउँपालिकाले प्राप्त गरे पनि आयोजना प्रभावित वडा नम्बर ३ र ४ वडालाई सहमति अनुसार दिनुपर्ने बजेट तिनाउ गाउँपालिकाले दिएको छैन ।

यसैगरी मुहान क्षेत्र संरक्षण, झुम्सा–सत्यवती सडक कालोपत्रेमा चासो नदिएको, सिंचाइ, कृषि, खानेपानी लगायत विकासमा प्रभावित क्षेत्रलाई बेवास्ता गरेकाले स्थानीय रुष्ट रहेको पूर्ववडाध्यक्ष गाहा बताउँछन् । ‘गाउँपालिकाले बुटवल उपमहानगरपालिका र खानेपानी संस्थानबाट रकम लिने गरे पनि प्रभावित वडालाई ५०–५० लाख र अरु वडालाई २५ लाखका दरले बजेट बाँडफाँट गर्ने सहमति पालना नगर्दा स्थानीय फेरि आन्दोलित हुने तयारीमा छन्,’ पूर्व वडाध्यक्ष गाहाले भने ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?