+
+

पछिल्लो सप्ताहन्त ‘भ्वाइस’ स्टेजमा कसले चारैजना कोचको कुर्सी घुमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १४:१४
झापाका प्रशान्त पोखरेल (बायाँ) र नुवाकोटका सुजन खड्का ।

काठमाडौं । टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजन रोचक बनिरहेको छ । गतसातादेखि प्रसारण सुरु भएको नयाँ सिजनमा ‘ब्लाइन्ड अडिसन’ राउण्ड चलिरहेको छ । यो सिजनमा २५ जनाले चारैजना कोचको कुर्सी घुमाउन सफल भएको खबर यसअघि सार्वजनिक भैसकेको छ । यस्तोमा, पछिल्लो सप्ताहन्तको तेस्रो र चौंथो एपिसोडमा पनि सहभगिले दमदार प्रस्तुति दिँदै कोचको कुर्सी घुमाउन सफल रहे ।

तेह्रथुमको म्याङलुङका ३३ वर्षीय हरिप्रसाद लुइँटेलले सत्यस्वरुपको ‘अलि अलि भन्दा भन्दै’ गीत गाएर कोच र दर्शकलाई मन्त्रमुग्ध तुल्याए । यो सानदार प्रस्तुतिमा चारैजना कोचले कुर्सी घुमाए । उनले कोचको रुपमा उदय सोताङको टीमलाई रोजे । मलेसियामा श्रम गर्दै आएका लुइँटेलले भ्वाइसमा सहभागि हुन आफू स्वदेश फर्किएको बताएका थिए ।

लाजिम्पाट निवासी २५ वर्षीय सेमन खड्काले द एज ब्यान्डको गीत ‘जिउनलाई गाह्रो भो’मा आकर्षक प्रस्तुति दिए । यो प्रस्तुतिमा उनले कोचको मन जिते र चारैवटा कुर्सी घुमाउन सफल रहे । उनी कोच राजु लामाको टीममा प्रवेश गरेका छन् ।

झापाका १७ वर्षीय प्रतियोगि प्रशान्त पोखरेलले गुलाम अलीको ‘के छ र दिऊँ तिमीलाई मैले’ गीतमा मर्मस्पर्शी प्रस्तुति दिए । कलिलै उमेरका उनले हार्मोनियम बजाउँदै गीत गाएका थिए । संगीतको औपचारिक शिक्षा लिएका उनले चारै कोचलाई घुमाउन सफल रहे । उनले कोच उदयको टीमबाट प्रतिस्पर्धा गर्नेछन् ।

नुवाकोटका ३० वर्षीय सुजन खड्काले पनि कालीप्रसाद बास्कोटाको गीत ‘सयौं जुनी भन्दा’ गाएर चारै कोचलाई घुमाउन् सफल भएका छन् । उनले कोच उदयको टीमबाट प्रस्तुति दिनेछन् । ६१ जनाले ब्लाइन्ड अडिसनमा सहभागि हुने द भ्वाइस अफ नेपालले जनाएको छ । भ्वाइस अफ नेपाल सुरु भएयता यो संस्करणमा चारै कुर्सी घुमाउनेको रेकर्ड बनेको हो ।

भ्वाइसको विश्वव्यापी संरचनाअनुसार प्रतिस्पर्धीको अडिसन मनपरे कोच घुम्नुपर्ने नियम छ । ‘चारै कुर्सी घुम्नुको अर्थ संगीतलाई गम्भीरतासँग लिएको बुझ्न सकिन्छ । राम्रा गायक-गायिका पनि भ्वाइसमा आएका छन् । यसपटक त्यो संख्या अझै वृद्धि हुने देखिन्छ’ भ्वाइस निर्देशक लक्ष्मण पौडेलले भने ।

नयाँ सिजनमा मेलोडी जनराका कलाकार बढी आएका छन् । त्यसपछि रक गाउनेको संख्या धेरै छ । सबैभन्दा न्यून लोकदोहोरी जनराका छन् । लोकदोहोरीलाई समावेशी तुल्याउन यसपटक चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी कोचको रुपमा छन् । सेन्चुरीका साथै यसपटक राजु लामा, उदय सोताङ र मेलिना राई कोचको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?