
काठमाडौं । अभिनेत्री आना शर्मा यतिबेला चर्चाको केन्द्रमा छिन् । प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’ले पनि उनलाई चर्चामा ल्याएको छ । यो चर्चाबीच उनको प्रेम सम्बन्धको चर्चा पनि चुलिएको छ ।
फिल्म प्रचारमा उनी जहाँ पुग्छिन्, त्यहाँ उनलाई गायक सुशान्त केसीसँगको प्रेम सम्बन्धबारे प्रश्न सोधिन्छ । उनले यसलाई स्वीकार वा अस्वीकार दुबै नगरेको अवस्था छ । सुशान्तलाई पनि गतसाता आयोजित कन्सर्टको प्रेसमिटमा आनासँगको प्रेमबारे सोधिएको थियो । उनले कुरालाई अन्तै मोडेर टार्ने प्रयास गरे ।
धेरैपटक आना र सुशान्त एकसाथ देखिएका छन् । फिल्म प्रिमियर होस् या पोखरा घुमघाम । व्यक्तिगतमात्र होइन, व्यवसायिक सहकार्य पनि उनीहरूबीच छ । सुशान्तले जति म्युजिक भिडियो बनाउँछन्, त्यसको मोडलमा आना हुन्छिन् ।
प्रेम सम्बन्धलाई सार्वजनिक गर्न यो जोडी हिचकिचाइरहेको देखिन्छ । यस्तोमा गतसाता अनलाइनखबरसँग आनाले सुशान्तसँग आगामी एक फिल्ममा सहकार्य हुनसक्ने जवाफ दिएकी थिइन् ।
यतिबेला अर्को अर्को अन्तर्वार्तामा आनालाई प्रेमबारे धेरै सोधियो । उनले यी प्रश्नलाई सकेसम्म पन्छाउने प्रयास गरिन् । ‘हाँस्दै…दुईजना प्रेममा ? मलाई नै थाहा छैन । धेरैले सुशान्त र आनाको प्रेम छ भन्छन् । तर, किन भन्छन् ? हामीले पब्लिकमा कहिल्यै भनेका छैनौं’ उनले भनिन् ।
उनले अघि भनिन्, ‘धेरै म्युजिक भिडियो गरेर हो कि ? काम गरेपछि धेरै कुरा मिल्छ । यसरी नै उहाँसग काम गर्न मनपर्यो । यसकारण उहाँले मलाई दुईतीनपटक कास्ट गर्नुभयो । सँगै देखेर होला ।’ उनले रिलेसनसिपलाई सकेसम्म व्यक्तिगत राख्नुपर्ने बताइन् । ‘हो कि होइन फ्युचरमा थाहा पाउनुहुन्छ । अलिकति सस्पेन्स पनि राख्छु’ सुशान्तसँगको प्रेमबारे उनले भनिन् ।
प्रतिक्रिया 4