भीडभाडमा जान डर लाग्छ। त्यहाँ पुग्दा मुटु ढुकढुक हुन्छ। बोली नै लर्बराउँछ । बोल्न खोजेको कुरा बोल्न सकिँदैन। कहिलेकाहीँ भीडभाडमा हुँदा थोरै गम्भीर हुनु स्वभाविक हो। यो सबैलाई हुनसक्छ। तर प्राय यस्तै डर भइराख्नुका साथै बेहोस हुने वा अन्य असामान्य अनुभव हुन्छ भने यसलाई स्वभाविक मान्न सकिँदैन। यस्तो समस्या ‘एगोरोफोबिया’को लक्षण हुनसक्छ।
एगोरोफोबिया कस्तो समस्या ?
एगोरोफोबिया एक प्रकारको ‘स्ट्रेस डिसअर्डर’ हो। यो समस्या व्यक्तिले सार्वजनिक स्थलमा जान, बन्द ठाउँमा रहन, सपिङ मल, लाइनमा बस्न वा कुनै समारोहजस्ता भीडभाड भएका सार्वजनिक स्थानहरूमा जाँदा नर्भस महसुस गर्छन्।
यस्ता ठाँउमा केही क्षण बस्न पनि अत्याधिक गाह्रो हुनसक्छ। कहिलेकहीँ त स्वनियन्त्रण गुमेर प्यानिक अट्याकसमेत आउने जोखिम हुनसक्छ ।त्यसकारण यस समस्याबाट पीडित व्यक्ति सधैं त्यस्ता ठाउँहरूमा जानबाट जोगिन्छन्।
कारण
यो समस्या किन हुन्छ ? अहिलेसम्म यसको कारण टुंगो लागिसकेको छैन। तर केही कारकलाई यसका लागि जिम्मेवार मानिन्छ ।जस्तै, आत्मविश्वासको कमी, भीडसँग सम्बन्धित बाल्यकालको कुनै खराब अनुभव, नकारात्मक विचार, डिप्रेसन र सोसल फोबिया लगायतका समस्या।
कहिलेकहीँ मस्तिष्कमा हुने न्यूरोट्रान्समिटरको संरचनामा आउने परिवर्तनले पनि स-सानो कुरामा डर लाग्ने हुनसक्छ ।
कसैमा वंशाणुगत कारणले पनि यो समस्या उत्पन्न हुनसक्छ ।
लक्षण
-भीडभाड भएको ठाउँमा पुग्दा घाँटी सुख्खा हुनु,
-अत्यधिक पसिना आउनु,
-हातखुट्टा चिसो हुनु,
-मुटुको धड्कन र श्वासप्रश्वासको गति बढ्नु,
-र, भीडभाड भएको ठाउँमा आत्तिएर बेहोस हुनु ।
यस्तो अवस्थामा व्यक्तिले आफ्ना नजिकका व्यक्ति वा वरपरको वातावरणलाई आफ्नो सुरक्षा कवच बनाउँछ । यसको लक्षण २० देखि ४० वर्ष उमेर समूहका मानिसमा बढी देखिन्छ।
उपचार
यदि यो समस्याको समयमै पहिचान र सही उपचार गरियो भने यसबाट मुक्ति पाउन सकिन्छ ।
सुरुमा लक्षणलाई आधार मानेर समस्याको पहिचान गरिन्छ । समस्या पुष्टी भएमा बिरामीलाई औषधि, थेरापी र परामर्शमार्फत उपचार गरिन्छ।
उपचारमा केही थेरापी पनि समावेश छन् । जस्तै, ‘कग्नेटिभ बिहेभियरल थेरापी’, ‘एक्पोजर थेरापी’ र ‘साइकोथेरापी ।’
साइकोथेरापीमा बिरामीलाई यस्तो वातावारण दिइन्छ, जसमा उसले आफ्नो डरको बारेमा खुलेर बोल्न सकोस् ।
डरको बारेमा चिकित्सकले खुलस्तरुपमा जानेमा उपचार प्रक्रियामा सहयोग पुग्छ ।
त्यस्तै, कग्नेटिभ बिहेभियरल र एक्सपोजर थेरापीमा पनि डरको ‘ट्रिगर पोइन्ट’ पत्ता लगाउने प्रयास गरिन्छ । उनीहरुको दिमागमा आउने विचार र भावना सुन्ने, बुझ्ने र सहज गराइन्छ । यसमा भीड हुने क्षेत्रमा शान्त वातावरण भएको मौका पारी एकछिन बस्ने प्रयास गर्दै जाने गरेमा पनि यो डर कम हुँदै जान्छ ।
लक्षणलाई कसरी नियन्त्रण गर्ने ?
दैनिक ध्यान, योगा र व्यायाम गर्नाले पनि यसका लक्षण कम हुन्छन् । नियमित रूपमा शारीरिक गतिविधि गर्दा रक्त सञ्चार राम्रो हुन्छ । जसले आरामदायी महसुस गराउने मस्तिष्क रसायनहरूको उत्पादन बढाउन मद्दत गर्छ ।
त्यस्तै, साथीभाइसँग घुम्न निस्कने, आफूलाई व्यस्त राख्ने, एक्लै सकेसम्म नबस्ने, आत्मविश्वास बढाउने प्रशिक्षण लिने गतिविधिले पनि धेरै हदसम्म यो डरलाई कम गर्न मद्दत गर्छ ।
प्रतिक्रिया 4