
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जुना : एक ब्यथा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।
बालविवाह र महिला हिंसाविरुद्ध सन्देश दिने कथावस्तुमा बनेको फिल्मको ट्रेलरलाई दर्शकले रुचाउने पक्का छ । फिल्मको शीर्ष भूमिकामा अस्मिता ढकाल फिचर्ड छिन् ।
जीवन सेन्चुरी निर्देशित फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अस्मितासहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको पनि अभिनय छ ।
बालविवाह सामाजिक अपराध रहेको र यसलाई अन्त्य गर्नुपर्ने सन्देशसहित फिल्म निर्माण गरिएको निर्देशक सेञ्चुरीले पत्रकार सम्मेलनमा बताए । ‘जुना’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ,’ उनले भने ।
सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्न सरकारले लिएको लक्ष्यलाई फिल्मले सघाउने उनले बताए । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत छ । फिल्मलाई रामेश्वर हुमागाईंले खिचेका हुन् ।
‘जुना’ माघ २५ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4