+

मलाई एचआईभी हुन सक्दैन भनेर जिद्दी गर्नु ठिक होइन

२०८१ माघ  १५ गते १५:५० २०८१ माघ १५ गते १५:५०
मलाई एचआईभी हुन सक्दैन भनेर जिद्दी गर्नु ठिक होइन

एचआईभी संक्रमण भयो भन्नुको अर्थ ‘ह्युमन इम्युनोडिफिसियन्सी भाइरस’ शरीरमा छिर्‍यो भन्ने हुन्छ। यो भाइरसका कारण शरीरमा तत्काल कुनै लक्षण देखिँदैन । लक्षण देखिन सातदेखि दशवर्ष लाग्छ । उसलाई अवसरवादी रोगहरू देखाउन थाल्छ । रोगप्रतिरोधी क्षमता राम्रो भएका व्यक्तिलाई हत्तपत्त रोग नदेखाउने, जसको रोगसँग लड्ने क्षमता कम छ उसलाई रोग देखाउनेलाई अवसरवादी रोग भनिन्छ ।

क्रिप्टोकोकल मेनेन्जाइटिस्, टीबी मेनेन्जाइटिस् लाग्न थाल्छन् यो लागेको अवस्थालाई हामी ‘एज’ भन्छौँ ।

भाइरस शरीरमा प्रवेश गरेपछि उसले औषधि खाएको छैन वा कुनै उपचार गरेको छैन भने ७ देखि १० वर्षमा त्यो व्यक्ति एजको अवस्थामा पुग्न सक्छ ।

एक एमएल रगतमा भाइरसका कति संख्यामा छन भनेर हेर्ने कुरालाई हामी भाइरल लोड भन्छौँ । औषधि सेवन नगरेको खण्डमा एक एमएल रगतमा १० हजारदेखि लाखौँ लाख हुन सक्छन् । भाइरल लोडलाई कम गर्नका लागि औषधि चलाउने हो । औषधि खाइसकेपछि भने एउटा पनि देखिँदैन । यसो हुँदा भाइरसले रोगसँग लड्ने क्षमतामा ह्रास ल्याउन पाएन, मान्छे बिरामी हुँदैन र अकालमा मृत्यु हुँदैन । भाइरल लोड थोरै हुँदा भन्दा धेरै हुँदा रोग लाग्ने सम्भावना बढी हुन त सक्छ तर औषधि खाइसकेपछि स्वाट्टै घट्ने हुनाले यसमा धेरै फोकस हुनु जरुरी छैन ।

एचआईभीका कारण आयु कम हुँदैन

धेरै वर्षअगाडि यो भर्खर–भर्खर आउँदा यसको औषधि राम्रोसँग बनेको थिएन । त्यो बेला यसले अकालमा मृत्यु गराउँथ्यो । यसलाई प्राणघातक रोगका रुपमा लिइन्थ्यो । अहिले चाहिँ त्यो अवस्था छैन । प्रभावकारी औषधि आइसकेको छ । नियमित औषधि खाने हो भने एचआईभीकै कारण आयु कम हुँदैन । मान्छे पूरा आयु बाँच्न सक्छ ।

म जोखिममा छु भनेर आफैँ परीक्षण गर्न आउने नगन्य हुन्छन् । कोही सडक दुर्घटना परेर अस्पताल आउँदा एचआईभी रहेको पत्ता लाग्छ । गर्भवती भएर जाँचका लागि आउँदा, कसैको अप्रेसन गर्नुअघि जाँच गर्दा, विदेश जानका लागि स्वास्थ्य जाँच गर्दा एचआईभी पोजेटिभ देखिनेहरु धेरै छन् ।

हामीकहाँ जाँचका लागि जति पनि आउनुहुन्छ–प्रायले मलाई केही भएको छैन, कुनै समस्या छैन, एचआईभी छैन होला भनेर जिद्दी गर्नुहुन्छ । त्यसरी जिद्दी गर्नु ठिक होइन । एचआईभीले यसलाई लाग्छु, यसलाई लाग्दिन भन्दैन, जसलाई पनि हुनसक्छ । संक्रमणको जोखिममा भएपछि जाँच गरिहाल्नुपर्छ ।

समाजको दृष्टिकोण बदलिनुपर्छ

सामान्य रुपमा बुझ्दा मान्छेलाई लाग्ने विभिन्न रोगहरुमध्ये यो एक रोग मात्रै हो । तर जुन कारणले एचआईभी सर्छ त्यसबारे समाजमा नकारात्मक धारणा छ । एचआईभी पोजेटिभ देखियो भन्नेवित्तिकै यसले यसो गर्‍यो होला, त्यसो गर्‍यो होला अनि लाग्यो भन्ने धारणा बनाइन्छ, त्यसैले पनि एचआईभी भएको मान्छे खुलेर बाँच्ने वातावरण बन्न सकेको छैन । यो एक भाइरसले हुने रोग हो औषधि खायो भने नियन्त्रणमा रहन्छ भन्ने आम बुझाइ समाजमा हुनुपर्‍यो ।

मेडिकल फिल्डमै रहेका, इन्जिनियर, प्रहरी, सेना, कर्मचारी सबै पेशामा रहेका बिरामी हामी कहाँ जाँचका लागि आउनुहुन्छ । उहाँहरु औषधि खानुहुन्छ । आफ्नो काम गर्नुहुन्छ, सामान्य जीवनयापन गरिरहनुभएको छ । राम्रोसँग नियमित औषधि खाँदा वैवाहिक जीवनमा पनि खासै असर गर्दैन, एचआईभी संक्रमितले बच्चा जन्माउँदा पनि उसमा एचआईभी देखिँदैन ।

एचआईभी
डा. लीना देवकोटा
लेखक
डा. लीना देवकोटा
चिकित्सक

डा. देवकोटा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालमा कार्यरत छिन् । संक्रामक रोगमा एमबीबीएस गरेकी उनीसँग एचआईभी संक्रमितको उपचार गरेको सात वर्षको अनुभव छ । देवकोटाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९३७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय