१५ माघ, काठमाडौं । गोलकिपर विकेश कुथु नायक बनेपछि न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक लोकतान्त्रिक बागमती सभापति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा लोकतान्त्रिक बागमतीले एनआरटीलाई टाइब्रेकरमाा ४-२ ले पराजित गरेको हो । जहाँ बागमतीका गोलकिपर विकेश कुथुले एनआरटीका सरोज तामाङको प्रहार बचाएका थिए । एनआरटीका सुमित श्रेष्ठको प्रहार भने बाहिरिएको थियो ।
लोकतान्त्रिक बागमतिका लागि नविन लामा, फोडे फोफाना, रजत तिवारी र कुलदिप कार्कीले गोल गरे । एनआरटीका लागि अभिषेक लिम्बुल र जय गुरुङले मात्र गोल गरे ।
त्यसअघि निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट भएको हो । निर्धारित समयमा बागमतीले पहिलो हाफमा दुई गोलको अग्रता लिएपनि दोस्रो हाफमा एनआरटीले दुई गोल फर्काउँदै खेल बराबरी गरेको थियो ।
बागमतीका लागि पहिलो हाफको ११औं मिनेटमा सन्दीप कार्की तथा सेनेगालाईसे एलेक्सले १४औं मिनेटमा गोल गरेका थिए । एनआरटीका लागि कृतिश रत्न छुन्जुले ४६औं र ६९औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
आयोजक टोलीले अब उपाधिका लागि संकटा एफसीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बिहीबार हुनेछ ।
प्रतिक्रिया 4