+
+
सम्झना :

गान्धीवादी बोधप्रसाद उपाध्याय कांग्रेसको निर्णयपछि सशस्त्र क्रान्तिमा

२०१७ साल पुस १ गते राजा महेन्द्रले जननायक बी.पी कोइरालाको सरकार बर्खास्त गर्दै भर्खरै शुरु भएको प्रजातान्त्रिक संसदीय व्यवस्थाको हत्या गरी सैनिक शासन मार्फत सर्वसत्तावादी निरंकुश तानाशाही लादेपछि बोधप्रसाद उपाध्याय प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा होमिनुभयो जो जीवनपर्यन्त जारी रह्यो।

वृषेशचन्द्र लाल वृषेशचन्द्र लाल
२०८१ माघ १६ गते ९:४४

तानाशाही, एकतन्त्रवादी राजाशाही विरुद्धको संघर्षमा स्व. बोधप्रसाद उपाध्याय – हाम्रो बोधदादाको योगदान बेमिसाल र अनुपम छ। लोकतन्त्रको निमित्त अहिंसात्मक आन्दोलनमा सक्रियता, नेतृत्व, निःस्वार्थ प्रतिबद्धता एवं समर्पणको यस्तो उदाहरण विरलै पाइन्छ।

भनिन्छ, विशुद्ध २४ क्यारेटको सुनको गहना बन्न सक्दैन, बनाइयो भने पनि कमजोर हुन्छ, चुँडिएर जान्छ। आजको समाजमा त्यसैले होला, जुनसुकै क्षेत्रमा पनि यस्तो २४ क्यारेटका व्यक्तित्वहरू आउँछन् तर समाजको स्मृतिपटलबाट ओझेल गरिन्छन्। यसो भन्नुको तात्पर्य, सफलताको आकलनको हाम्रो जरैदेखि प्रचलित खोटपूर्ण दृष्टिकोण हो। बोधदादा कर्मप्रति समर्पित हुनुहुन्थ्यो। पद, पैसा, प्रसिद्धिको चाह लेश मात्र थिएन। लोकतन्त्रको निमित्त संघर्ष नै उहाँको जीवनको ध्येय थियो। यसै कर्मयोगमा उहाँ अविचलित रही सदैव आनन्दित रहनुभयो। संघर्षको क्रममा उहाँमा कतै कुनै मोह, भय, क्रोध, लालच वा ईर्ष्याको अस्तित्व देखिएन। अन्य सबै कामनाको त्याग गरी प्रजातन्त्र निमित्तको संघर्षमा मात्रै लीन रहनुभयो। उहाँ लोकतान्त्रिक आन्दोलनका स्थितप्रज्ञ ऋषि हुनुहुन्थ्यो।

प्रजहाति यदा कामान्सर्वान्पार्थ मनोगतान्।

आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते।।

भगवत् गीता : अध्याय २/५५

हे पार्थ, जब साधक मनोगत सम्पूर्ण कामनाको त्याग गरी आफैंमा आफूसँगै स्थित रहन्छ, स्थितप्रज्ञ भएको भनिन्छ।

बोधप्रसाद उपाध्यायको जन्म आमा ऐनकुमारी उपाध्यायको कोखबाट विक्रम संवत् १९७३ मा पाल्पामा भएको थियो। उहाँका पिताजी डिट्ठा रुद्रलाल उपाध्याय त्यतिखेर पाल्पामै कार्यरत थिए। पुर्ख्यौली घर रामेछापको चिसापानीमा भए पनि उहाँहरू तत्कालीन महोत्तरी (हालको धनुषा, महोत्तरी र सर्लाहीको संयुक्त रूप)को जनकपुरसँगै टाँसिएको कपिलेश्वर गाउँमा बास सरेका थिए। बोधदादाको लालन-पालन कपिलेश्वरमै भयो। बोधदादा कपिलेश्वरलाई नै आफ्नो जन्मथलो मान्नुहुन्थ्यो। उहाँ आफूलाई कपिलेश्वरकै माटोको सन्तान बताउनुहुन्थ्यो। उहाँकी प्रथम धर्मपत्नीको अल्पायुमै १९९३ सालमा निधन भएपछि १९९९ सालमा बोधदादाको दोस्रो विवाह श्रीमती विद्या घिमिरेसँग भयो। बोधदादाको प्रथम पत्नीबाट एक छोरी सहित उहाँहरूका ४ छोरी र ३ छोरा गरी ७ सन्तान भए।

बोधदादाको शिक्षा बनारसमा भयो। अध्ययनकै क्रममा उहाँ महात्मा गान्धीको नेतृत्व र शाश्वत अधिकार निमित्तको संघर्षमा सत्याग्रहको अमोघतासँग प्रभावित हुनुभयो। म्याट्रिकुलेशन पूरा गरी कपिलेश्वर फर्केपछि उहाँको मनमा राणाशाही जहानियाँतन्त्र विरुद्ध संघर्ष र नेपालमा लोकतन्त्र स्थापित गर्ने संकल्प जागृत भयो।

१९९२ साल वैशाख २३ गते जनकपुरको हवाई अड्डा नजिक पापमोचनीसरमा पं. रमाकान्त झाको अगुवाइमा तत्कालीन महोत्तरीका जागरुक र शिक्षित युवाहरूको भेला भयो। बोधप्रसाद उपाध्याय त्यस आयोजनका सक्रिय आयोजकहरूमध्ये एक हुनुहुन्थ्यो। उक्त भेलाले राणाशासनको अन्त्य गरेर संवैधानिक राजतन्त्र सहित प्रजातन्त्रको स्थापना गर्ने प्रतिज्ञा गर्‍यो। त्यस प्रतिज्ञापत्रमा २२ जना क्रान्तिकारी युवाहरूले आ-आफ्नो रगतले हस्ताक्षर गरेका थिए। ती २२ जनामा  पं. रमाकान्त झा, पं. रामभद्र झा, बोधप्रसाद उपाध्याय, रामदुलार साह, देवशंकर गिरी, गोकुल गिरी, कमलाकान्त चौधरी, यमुनाप्रसाद सिंह, योगकुमार माथेमा, इन्द्रकुमार मल्ल, श्रीकान्त ठाकुर, बौएलाल झा, देवकान्त झा, गंगेश्वर झा, गुलाम नारायण झा आदि हुनुहुन्थ्यो।

२००७ सालको क्रान्तिको पृष्ठभूमि निर्माणमा बी.पी.को टोलीको त्यो काठमाडौं यात्राले अहम् योगदान गरेको थियो। बी.पी. कोइरालाले बोधदादाको त्यो युक्तिको साहसलाई कहिल्यै बिर्सिनुभएन।

यी सबै युवाहरूले त्यस भेलामा राणाशासन विरुद्ध लड्ने र देशमा प्रजातन्त्रको स्थापना गरिछाड्ने प्रतिज्ञा गरेका थिए। प्रतिज्ञा-पत्र तयार गरी सबै जनाले आ-आफ्नो रगतले हस्ताक्षर गरेका थिए। उहाँहरूको त्यो प्रतिज्ञाले जनकपुर क्षेत्रमा राणा विरोधी वातावरण तयार गर्‍यो र त्यसमा जनकपुरको अग्रणी भूमिकाको जग खडा गर्‍यो। राणाकालको अन्त्यपछि पनि लोकतन्त्र, मौलिक अधिकार र समानताको निमित्त जनकपुरका युवाहरूलाई उहाँहरूको त्यस साहसले प्रेरणा दिइरह्यो।

१९९२ सालदेखि बोधदादा अनवरत प्रजातन्त्र निमित्तको संघर्षमा होमिनुभयो। २००३ साल माघ १३ गते नेपाली राष्ट्रिय कांग्रेसको गठन भएपछि उहाँ त्यसको सदस्य हुनुभयो। २००५ सालमा, पार्टीले राणाशासन विरुद्ध संघर्षको तयारीमा जननायक बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, केदारमान व्यथित राणाहरूको आँखा छली लक्ष्मीपूजामा सबै व्यस्त रहेको बेला काठमाडौं उपत्यका प्रवेश गर्ने र त्यहाँ राणा विरुद्ध सक्रिय रहेका सबै खाले व्यक्तित्वहरूसँग भेटघाट, छलफल गर्दै सम्भव भएसम्म प्रजातन्त्रका आकांक्षीहरूलाई संगठित गर्ने निर्णय गर्‍यो।

बी.पी. सहित ती तीन जना नेताहरूलाई काठमाडौं प्रवेश गर्न आवश्यक चाँजोपाँजो सहित नजिकसम्म पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी बोधप्रसाद उपाध्यायलाई सुम्पिएको थियो। बोधदादाले यसका निमित्त आफ्नी आमा ऐनकुमारी उपाध्यायसँग सहयोग मागे। आफ्नो पुर्ख्यौली घर चिसापानी बरोबर जाने–आउने भइरहेकोले आमासँगै बोधदादा र तीनै जना नेताहरू खुर्कोटसम्म जाने, त्यहाँबाट नेताहरू दुम्जा जानुहुनेछ र त्यहाँबाट काठमाडौंको यात्राको तयारी गर्नु हुनेछ भने अर्कोतिर बोधदादा आमासँगै खुर्कोटबाट चिसापानी जानुहुनेछ भन्ने तय गरियो। राणाहरूलाई यो यात्रा सामान्य आवतजावतको लागोस् र कुनै शंका नहोस् भन्ने सोचले यस्तो रणनीति बनाइएको थियो।

सोही अनुसार बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, केदारमान व्यथित पटनाबाट जयनगर हुँदै रातिको अँध्यारोमा कपिलेश्वरमा बोधदादाको घरमा पुग्नुभयो र केही दिन पाहुनाको रूपमा बास बस्नुभयो। सबै व्यवस्था ठीक भएपछि घोडा चढेर उहाँहरू बिजलपुरा र त्यसपछि बीच-बीचमा बास बस्दै सिन्धुलीमाढी र गढी हुँदै खुर्कोट पुग्नुभएको थियो।

खुर्कोटबाट तीन जना नेताहरूलाई दुम्जा पुर्‍याउने व्यवस्था गरी बोधदादा आफ्नी आमासँगै चिसापानी लाग्नुभएको थियो। त्यहाँबाट बी.पी.को टोली दुम्जा अनि धुलिखेल र ठीक लक्ष्मीपूजाको दिन काठमाडौं प्रवेश गर्न सफल हुनुभएको थियो।

२००७ सालको क्रान्तिको पृष्ठभूमि निर्माणमा बी.पी.को टोलीको त्यो काठमाडौं यात्राले अहम् योगदान गरेको थियो। बी.पी. कोइरालाले बोधदादाको त्यो युक्तिको साहसलाई कहिल्यै बिर्सिनुभएन।

वृषेशचन्द्र लाल

२००३ साल कात्तिक १५ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको आयोजनमा बनारसमा आयोजित एउटा भेलामा देवीप्रसाद सापकोटाको सभापतित्वमा गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस जो तीन महीनापछि २००३ साल माघ १२-१३ गतेको आफ्नो प्रथम महाधिवेशनबाट नेपाली राष्ट्रिय कांग्रेसको रूपमा स्थापित भयो, अहिंसामा विश्वास गर्दथ्यो र नेपालमा प्रजातन्त्रको स्थापनाको निमित्त सत्याग्रह नै बाटो हो भन्ने ठान्दथ्यो। अर्कोतिर २००४ साल साउन १ गते जनरल सुवर्णशमशेर र महेन्द्रविक्रम शाह लगायतद्वारा स्थापित नेपाल प्रजातन्त्र कांग्रेस राणाहरू विरुद्ध सशस्त्र क्रान्ति हुनुपर्दछ भन्ने विचार राख्दथे। दुवै प्रजातन्त्रवादी र एउटै लक्ष्य बोकेका पार्टीहरू भए पनि लक्ष्यसम्म पुग्ने बाटो भिन्न-भिन्न थियो।

तर, २००४ चैत ३१ गते मोहनशमशेरले नेपाल राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालभित्र पसेर सत्याग्रहको प्रभावकारी बाटो अख्तियार गर्न सकिने अवस्था रहेन। परिस्थितिको यस्तो बाध्यतालाई हृदयङ्गम गर्दै प्रजातन्त्र स्थापना नै मूल लक्ष्य मान्ने विश्वेश्वरप्रसाद कोइराला सशस्त्र क्रान्तिको अनिवार्यतालाई स्वीकारे र २००६ चैत २७ दुवै दलको एकीकरणबाट नेपाली कांग्रेस अस्तित्वमा आयो। त्यसपछि थिरबम मल्लको नेतृत्वमा मुक्ति सेनाको तयारी प्रारम्भ भयो। २००७ साल असोज १०-२६ सम्म नेपाली कांग्रेसले बैरगनियाँ भारतमा रणनीतिक सम्मेलन आयोजित गरी लामो छलफल र बहसपछि सशस्त्र क्रान्ति गर्ने निर्णय गर्नासाथ बोधप्रसाद उपाध्याय महिनाथपुरमा क्याम्प व्यवस्थापनको टोलीमा सक्रिय भइहाल्नुभयो र रसदपानी, बास व्यवस्थाको जोहो गर्न थाल्नुभयो।

आस्थाले मात्र होइन रहनसहन र आचार-विचारले समेत विशुद्ध गान्धीवादी बोधप्रसाद उपाध्यायको २००७ सालको सशस्त्र क्रान्तिमा सक्रियता देखेर उहाँका अनन्य मित्रहरू समेत अचम्भित थिए। उहाँ यसको उत्तरमा- “म गान्धीवादी भए पनि पार्टीको निर्णय सर्वोपरि हुन्छ” भन्ने गर्नुहुन्थ्यो। महिनाथपुर क्याम्पको व्यवस्थापनमा उहाँको भूमिकाले गर्दा नै क्रान्तिको सफलतापछि महेन्द्रनारायण निधिको प्रधानमन्त्रीत्वमा गठित पहिलो महोत्तरीको जनसरकारमा उहाँलाई मन्त्री बनाइयो।

२००९ सालमा पार्टीभित्र मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला बीच विवाद भएपछि बोधदादा भने महेन्द्रनारायण निधिसँगै मातृकाबाबुको निष्काशनको विपक्षमा देखिनुभएको थियो। निधिजीले अन्ततः निष्काशन प्रस्तावलाई समर्थन गर्नुभयो तर बोधप्रसाद उपाध्याय भने मातृकाप्रसाद कोइरालाको नयाँ पार्टीमा सामेल हुँदै राष्ट्रिय प्रजा पार्टीको महामन्त्री हुनुभयो। तर, २०१४ सालमा नेपाली कांग्रेसले २००७ साल फागुन ७ गतेको राजा त्रिभुवनको घोषणा अनुसार संविधानसभाको चुनावको माग गर्दै सत्याग्रहको घोषणा गरेपछि बोधदादा नेपाली कांग्रेसमै फर्किनुभयो।

यसबारे स्व. राजेश्वर नेपालीले उल्लेख गर्नुभएको छ- “बोधदादा जनताको संविधान जनताको प्रतिनिधिले बनाउनुपर्दछ भन्ने कुराको प्रबल समर्थक हुनुहुन्थ्यो। यसबारे मातृकाप्रसादजीसँग उहाँको कुरा मिलेन र उहाँ नेपाली कांग्रेसको सत्याग्रहमा सामेल हुन विना शर्त नेपाली कांग्रेसमा फर्किनुभएको थियो।” २०१५ सालको प्रथम आमचुनावमा उहाँलाई तत्कालीन महोत्तरी ४६ नं. क्षेत्रबाट चुनाव लड्न भनियो तर उहाँ अरूलाई नै सघाउने आफू नलड्ने भन्नुभयो र उहाँकै सहयोगी भोजराज घिमिरेलाई उम्मेदवार बनाइयो। उहाँको विजयमा बोधदादाको उल्लेखनीय योगदान थियो। आम निर्वाचनपछि बोधदादा माथिल्लो सदन महासभाको सदस्य बन्नुभएको थियो।

२०१७ साल पुस १ गते राजा महेन्द्रले जननायक बी.पी कोइरालाको सरकार बर्खास्त गर्दै भर्खरै शुरु भएको प्रजातान्त्रिक संसदीय व्यवस्थाको हत्या गरी सैनिक शासन मार्फत सर्वसत्तावादी निरंकुश तानाशाही लादेपछि बोधप्रसाद उपाध्याय प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा होमिनुभयो जो जीवनपर्यन्त जारी रह्यो। २०१७ को घटना लगत्तै उहाँ सुरसण्ड क्याम्पमा निर्वासित भएर बस्न थाल्नुभएको थियो।

तर उहाँ सत्याग्रह आन्दोलनको पक्षमा हुनुहुन्थ्यो। उहाँको विचारमा त्यतिखेरको अवस्था २००७ साल जस्तो थिएन र अलिकति सांगठनिक तयारीपछि सत्याग्रह आन्दोलन सम्भव थियो भन्ने थियो। राजाको कदमपछि क्रुद्ध बनेका सुवर्णशमशेरको नेतृत्वमा २०१७ माघमा भारतको पटनामा आयोजित नेपाली कांग्रेसको सम्मेलनबाट प्रजातन्त्रको स्थापनाको निमित्त पुनः सशस्त्र संघर्ष गर्ने निर्णय लिएपछि त्यसबारे फरक मत राख्नेहरूमध्ये बोधदादा पनि हुनुहुन्थ्यो।

नेपाली कांग्रेसले २०१८ मंसीरमा सशस्त्र संघर्ष शुरु गर्ने तयारी गरिरहँदा सत्याग्रह सम्भव छ भन्ने प्रदर्शित गर्न २०१८ साल कात्तिक २६ गते महेन्द्रनारायण निधि, नागेश्वर झा, मकेश्वर सिंह, बलराम नायक, रामचन्द्र मिश्र आदिले नेपाली कांग्रेसको झण्डा बोकी प्रजातन्त्र जिन्दावादको नारा लगाउँदै सीमा प्रवेश गरे। अर्को खेप र निरन्तरता प्रदर्शित गर्न त्यसको ४ दिनपछि बोधप्रसाद उपाध्यायको नेतृत्वमा बेनीमाधव सिंह लगायतकाहरू त्यस्तै नेपाली कांग्रेसको झण्डा बोकी प्रजातन्त्र जिन्दावादको नारा लगाउँदै सीमा प्रवेश गरे। उहाँहरू सबैलाई गिरफ्तार गरी जेल पठाइयो।

बीपी कोइराला

महेन्द्रनारायण निधि, बोधदादा र नागेश्वर झालाई शाही सेनाले आफ्नो कब्जामा लियो र पछि काठमाडौं पठायो। तीनै जनालाई २०/२० वर्ष कैद सुनाइयो। निधिजी २०२० साल माघतिर रिहा हुनुभयो तर बोधदादालाई ३ वर्षपछि मात्र रिहा गरियो। २०३१ सालमा नखु जेलमा उहाँले यस पंक्तिकारलाई यसबारे विस्तारपूर्वक बताउनुभएको थियो। जेलबाट रिहा हुने वित्तिक्कै बोधदादा पुनः सक्रियतापूर्वक प्रजातान्त्रिक आन्दोलनको गतिविधिमा लागेपछि उहाँलाई पुनः गिरफ्तार गरियो। यस पटक उहाँको रिहाई कृष्णप्रसाद भट्टराईसँगै २०२६ साल फागुनमा मात्र सम्भव भयो।

जेलको लामो र चिसो बसाइले उहाँको स्वास्थ्य जर्जर भएको थियो। दमको शिकार हुनुभएको थियो तर बोधदादा प्रजातन्त्रको चिन्ताले बेचैन हुनुहुन्थ्यो। शान्तिपूर्ण सत्याग्रहको अभ्यासलाई अगाडि बढाउँदै लग्नुपर्ने आफ्नो प्रबल धारणा अनुसार उहाँ विद्यार्थीलाई संगठित गर्न थाल्नुभयो। भित्र-भित्रै साँझको बेला विद्यार्थी नेताहरूसँग गोप्य सम्पर्क र मन्त्रणा उहाँको दैनन्दिनी थियो जसको जानकारी उहाँले आफ्नै साथीहरूलाई समेत दिनुभएको थिएन।

अचानक २०२७ साल जेठ ३० गते राजा महेन्द्रको जन्मदिनको अवसरमा भइरहेको सरकारी समारोहको अगाडि विद्यार्थी नेताहरू रा.रा. महाविद्यालय छात्र यूनियनका सभापति महन्थ ठाकुर, छात्र नेताहरू आनन्द ढुंगाना, महेन्द्रकुमार मिश्र, रामप्रसाद गिरी र त्यस्तै याज्ञवल्क्य संस्कृत पाठशालाका केशव कोइराला, हरिहर विरही लगायतकाहरू कालो झण्डा लिएर नारा लगाउँदै समारोह स्थल अगाडि आए। लाठी चार्ज भयो र माथि उल्लेखित सबैलाई गिरफ्तार गरियो, अरू भाग्न सफल भए। विरोध प्रदर्शनको मुख्य कर्ताधर्ता बोधदादालाई भोलिपल्ट उहाँको घरैबाट गिरफ्तार गरिएको थियो। अत्यन्तै कठोर यातनापछि उहाँहरूमाथि जनकपुरको तत्कालीन अञ्चलाधीशको इजलासमा राजकाज अपराध मुद्दा चलाइयो। १८-१८ महीनाको सजाय ठेकियो। झण्डै ११ महीनापछि सर्वोच्च अदालतले अञ्चलाधीशको निर्णय बदर गरेपछि उहाँहरू रिहा हुनुभएको थियो।

२०२८ सालमा आफ्नो सक्रियता र युवाहरूसँगै प्रजातन्त्रको निमित्त शान्तिपूर्ण क्रियाकलापहरूमा स्वयंको सहभागिताले बोधप्रसाद उपाध्याय जनकपुर क्षेत्रका युवा क्रान्तिकारीहरूमाझ अत्यन्त मान्य र लोकप्रिय हुनुहुन्थ्यो। रिहाइपछि लगत्तै उहाँ सर्लाहीतिर संगठनको विस्तारमा लाग्नुभयो। सर्लाहीलाई प्रजातान्त्रिक संघर्षको सक्रिय क्षेत्र बनाउन बोधदादा, रामहरि जोशी, रासविहारी राय र सीतामढीमा निर्वासित भएर सीतामढी क्याम्प संचालन गरिरहेका वासुदेवप्रसाद कोइरालाहरू बीच राम्रो सामञ्जस्य स्थापित भएको थियो। सीमाभित्र सत्याग्रह र त्यसैको माध्यमबाट भित्र-भित्रै सशस्त्र संघर्षको तयारीको कारण पञ्चायतका शासकहरू आत्तिएका थिए। उनीहरूको निमित्त बोधदादाको सक्रियता ठूलो खतरा बनेको थियो।

उनीहरूले २०२८ सालमा विद्यार्थी आन्दोलनताका आन्दोलनलाई समर्थन गरेको बहानामा बोधदादालाई पुनः गिरफ्तार गरेर जलेश्वर जेलमा राखे। जेलमा बोधदादालाई भेट्न उहाँका समर्थक र प्रजातान्त्रिक आन्दोलनतिर आकर्षित भएका युवाहरूको ओइरो लाग्न थाल्यो। आजित भएर पञ्चायती सरकारले उहाँलाई सिन्धुली जेल चलान गर्‍यो। १ वर्षपछि २०२९ सालमा यदुकोहा काण्ड र कामेश्वर-कुशेश्वरको शहादतपछि आन्दोलनकारी छात्र नेताहरूसँगै उहाँ पनि रिहा हुनुभयो तर चुपचाप बस्नुभएन।

२०२९ सालमा सिन्धुली र रामेछापमा अनिकाल परेको थियो। बोधदादा अनिकाल पीडितहरूका लागि सहयोग संकलनमा आफूसँगै आफ्ना युवा टोलीलाई समेत लगाउनुभयो। अनिकाल पीडितलाई सहयोगको नाममा संगठन र जनतामा त्यसको प्रभावको डरले पञ्चायती शासकहरूले उहाँलाई फेरि गिरफ्तार गरे।

२०२९ सालमा राजा वीरेन्द्रको जनकपुर यात्राको बेला कालो झण्डा देखाउने तयारी गरिरहेका १४ जना युवा क्रान्तिकारीहरू पक्राउ परे। पक्राउ पर्नेहरूमा आनन्द ढुङ्गाना, वृषेशचन्द्र लाल, विमलेन्द्र निधि, राधा साह, कृष्ण कुमार झा, प्रेम सागर साह आदि थिए। गिरफ्तार सबैलाई बोधदादासँगै जेल चलान गरियो। शान्तिपूर्ण सत्याग्रहको नाममा युवाहरूलाई बोधप्रसाद उपाध्याय, रामहरि जोशी, रासविहारी राय आदिले संगठित गर्ने र ती युवाहरूसँग सीमापारिका सशस्त्र आन्दोलनकारी नेताहरू सम्पर्क गरी सशस्त्र क्रान्तिका निमित्त जोड्ने त्यतिखेरको रणनीति थियो। २०३० साल पुस १ गतेलाई कालो दिनको रूपमा लिई बम विस्फोटद्वारा विरोध जनाउन क्रान्तिकारीहरूले मटिहानी, भिट्ठामोड, मलंगवामा बम विस्फोट गराएका थिए।

२०३० पुस १ गते राति मटिहानीको भन्सार, भिट्ठामोडको भन्सार, मलंगवाको प्रहरी थानानेर बम विस्फोटहरू भए। मटिहानीबाट ध्रुवप्रसाद साह, भिट्ठामोड काण्ड गर्ने बिसनपुरबाट घाइते अवस्थामा रामजीवन सिंह, मलंगवाबाट अशोक खनाल, रामचन्द्र राय यादव, धिरेन्द्रकुमार श्रेष्ठ र भिखारी मन्सुरलाई गिरफ्तार गरी राजद्रोह भन्दै हातहतियार खरखजाना राजकाज अपराध ऐन अन्तर्गत मुद्दा चलाइयो र जेल पठाइयो। त्यसै वर्ष तत्कालीन एस.पी. अफिसमा बम फिट गरेको भनी वृषेशचन्द्र लाल, महेन्द्रकुमार मिश्र र सुरेश आजाद समातिए।

सशस्त्र मिशनमै हिंडेको क्रममा सर्लाही र धनुषाका युवाहरू ईश्वर लामा, तप्तबहादुर केसी, पद्म लामा, विमल लामा, गणेश लामा, प्रेम लामा, पूर्णबहादुर पुलामी मगर लगायत हातहतियार सहित पक्राउ परे र राजकाज मुद्दा अन्तर्गत जेल पठाइए। जलेश्वर जेल, सेन्ट्रल जेल हुँदै नक्खुजेलमा सारिएका ती युवाहरूको शिक्षाको उचित प्रबन्धको जिम्मा लिंदै बोधदादाले संरक्षण र अभिभावकत्व प्रदान गर्नुभएको थियो। यी सबैसँग बोधदादा कतै गोपनीय त कतै खुला रूपमा जोडिएका थिए।

२०३२ सालको अन्त्यतिर नक्खुजेलबाट बोधप्रसाद उपाध्यायलाई रिहा गरियो तर उहाँ आफ्नो स्वभाव अनुसार शान्त बस्नुभएन। २०३३ साल मार्ग २ गते शिक्षण शुल्क वृद्धिको विरोधमा जनकपुरको रामस्वरुप रामसागर क्याम्पसमा हड्ताल भयो। विद्यार्थीलाई उक्साएर हड्ताल गराएको भनी बोधदादालाई पनि गिरफ्तार गरियो।

तत्कालीन अञ्चलाधीशको इशारामा जेलका नाइकेहरू लगाएर वृद्ध बोधदादालाई अमानवीय तवरले कुटियो र यातना दिइयो। भनिन्छ, उहाँलाई अखाद्य र लामो अवधिसम्म बेहोश रहिरहने औषधि समेत खुवाइयो। एक वर्षपछि रिहा हुनुभएको बोधदादा त्यसपछि सुस्त रहनुभयो। सक्रिय हुन सक्नुभएन। प्रायः मौन रहने हुनुभयो र घर समात्नुभयो। उहाँको मौनता र लोकतन्त्रप्रतिको आग्रहले फेरि उहाँको अन्तिम अवस्थामा मात्र आवाज पायो। गम्भीर रुपमा बिरामी भएका बड्बडाइरहने बोधदादालाई जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गर्दा उहाँलाई भेट्न आउने सबैलाई ‘यहाँ किन आएको लोकतन्त्रको निमित्त लड ! … प्रजातन्त्र जिन्दावाद !! … नेपाली कांग्रेस जिन्दावाद ! वीर विश्वेश्वर जिन्दावाद !!’ भनेर हकार्नुहुन्थ्यो।

२०३९ साल माघ २५ गते बोधप्रसाद उपाध्याय गंगासागरको घाटमा गंगालाभ गर्दै देहत्याग गरी अनन्त यात्रामा लाग्नुभयो र त्यसबेला पनि उहाँको अन्तिम स्वर ‘प्रजातन्त्र जिन्दावाद’ नै थियो।

बोधदादा हुँदासम्म जनकपुर क्षेत्रका प्रायश: चर्चित र सक्रिय क्रान्तिकारी युवाहरू बोधदादाको सम्पर्क र तालिममा थिए। निरंकुश पंचायती राजाशाही र एकदलीय शासन विरुद्धको लोकतन्त्र पुनर्स्थापना विरुद्धको संघर्षमा हाम्रा नायकहरूमध्ये बोधप्रसाद उपाध्याय युवाहरू बीच पथप्रदर्शक उस्ताद अर्थात् मेन्टरका रूपमा थिए। शहीद केशव कोइराला, महेश्वरप्रसाद सिंह, महन्थ ठाकुर, गणेश नेपाली, हरिहर विरही, आनन्द ढुंगाना, वृषेशचन्द्र लाल, रामचन्द्र तिवारी, विमलेन्द्र निधि, महेन्द्रकुमार मिश्र, रामप्रसाद गिरी आदि सबैका सम्मानित थिए। बोधदादा सबैलाई आफ्नो अंग सरह माया र स्नेह दिनुहुन्थ्यो।

बोधप्रसाद उपाध्याय वास्तवमा स्थितप्रज्ञ क्रान्ति-मनीषी हुनुहुन्थ्यो जसको चिन्तनको एक मात्र केन्द्रबिन्दु लोकतन्त्रको स्थापना र भेदभावरहित समतावादी समाजको स्थापना मात्र थियो।

अनन्त नमन। बोधदादा अमर रहुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?