
काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशको कारण फिल्म ‘एक्टर : टेक वन’को पूर्वनिर्धारित प्रदर्शन रोकिएको छ । यो फिल्म बुधबारदेखि प्रदर्शनमा आउने तयारीमा थियो ।
अदालतको आदेश आएको केही घण्टामै मंगलबार बेलुका क्यूएफएक्स, आइएनआईसहितका हलले प्रकाशित शो समेत स्थगित गरेका थिए । बुधबार बिहान सबै हलले सूचना प्रकाशित गर्दै अदालतको आदेशको कारण प्रदर्शन रोक्नुपरेको बताएका छन् ।
विक्री भैसकेको टिकट पनि फिर्ता गर्ने ती हलले जनाएका छन् । अनलाइन प्लाटफर्मबाट टिकट लिएका दर्शकले अनलाइनमै रिफण्ड पाउने र काउन्टरबाट टिकट लिएका दर्शकले काउन्टरबाटै टिकट फिर्ता पाउने क्यूएफएक्सले जनाएको छ ।
‘काउन्टरबाट टिकट लिनुभएका दर्शकले त्यही पैसामा अर्को फिल्म हेर्छु भन्न पनि पाउनुहुन्छ’ क्यूएफएक्सले भन्यो । आइएनआई, वान सिनेमाज लगायतका हलले पनि यही गरिरहेका छन् । आदेश आउनुपूर्व हलहरूले टिकट बेचिरहेका थिए ।
फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दामा मंगलबार काठमाडौं जिल्ला अदालतले तत्काल फिल्म प्रदर्शन नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको थियो । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । आदेशमा प्रतिवादी कम्पनी (एक्टर : टेक वन)का प्रतिनिधिलाई पनि अदालतमा उपस्थित हुन भनिएको छ ।
फिल्मको प्रदर्शन रोकिएपछि ‘एक्टर : टेक वन’का कलाकार र फिल्मकर्मीले सामाजिक संजालमा ‘जस्टिस फर एक्टर टेक वन’ ह्यासट्यागको ट्रेन्डिङ चलाइरहेका छन् । उनीहरूले फिल्मलाई न्याय दिनुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया 4