
माइक्रोसफ्टका सीईओ सत्य नाडेला र सोसल मिडिया प्लाटफर्म एक्सका मालिक एलन मस्कबीच नोकझोंक भएको छ ।
अमेरिकाको महत्वाकांक्षी Stargate AI पूर्वाधार परियोजनाको लागि आवश्यक वित्तीय व्यवस्थाका विषयमा मस्कले टिप्पणी गरेसँगै नाडेलाले त्यसको चोटिलो जवाफ फर्काएका छन् ।
सिएनबिसीलाई दिएको अन्तरवार्तामा नाडेलाले मस्कको उक्त चिन्ताका विषयमा जवाफ दिएका हुन् ।
जब नाडेलालाई मस्कले लगाएको कोष व्यवस्थापनसँग सम्बन्धित आरोपका विषयमा प्रश्न गरियो, तब उनले भने- मलाई थाहा छ कि म आफ्नो ८० अर्ब डलरका लागि सक्षम छु।
स्टारगेट परियोजना ५ खर्ब डलरको हुनेछ । तर उक्त परियोजनासँग सम्बन्धित कम्पनीहरुसँग त्यतिधेरै रकम नभएको आरोप मस्कको छ । उक्त परियोजनामा ओपन एआई, ओरेकल, माइक्रोसफ्ट र सफ्टबैंक लगायतका कम्पनीहरु जोडिएका छन् । यी कम्पनीहरुले उक्त परियोजना अन्तरगत आगामी ४ वर्षमा अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सको पूर्वाधार तयार गर्नेछन् ।
उक्त पूर्वाधार योजनाका माध्यमबाट अमेरिकामा लाखौं रोजगारी सिर्जना हुने बताइएको छ । यद्यपि एलन मस्कले भने उक्त पूरै प्रोजेक्टमाथि नै प्रश्न उठाएका छन् । परियोजना सम्बद्ध कम्पनीहरुसँग पर्याप्त रकम नभएको र सफ्टबैंकले अहिलेसम्म केवल १० अर्ब डलर भन्दापनि कम रकम मात्रै जुटाउन सकेको मस्कको टिप्पणी छ ।
साम अल्टम्यान र एलन मस्क
एलन मस्कको उक्त आरोपलाई ओपन एआईका सीईओ साम अल्टम्यानले पनि खारेज गरेका छन् । मस्कको दाबी पूर्णरुपमा गलत रहेको उनको भनाई छ । अल्टम्यानले आफ्नो भन्दा देशको स्वार्थलाई अगाडि राख्न मस्कलाई सुझाव दिएका छन् । तर मस्कलाई उक्त सुझाव खासै चित्त बुझेको छैन । जवाफमा मस्कले भनेका छन् – मलाई थाहा छ कि देशका लागि जे कुरा राम्रो हुन्छ, त्यो तपाईंको कम्पनीका लागि उचित हुन सक्दैन । मलाई आशा छ कि तपाईं आफ्नो नयाँ भूमिकामा अमेरिकालाई पहिलो स्थानमा राख्नुहुनेछ ।
उता मस्कले सत्य नाडेलाको अन्तरवार्ताको भिडियो क्लिप पोस्ट गर्दै नाडेलासँग चाहिं पर्याप्त पैसा रहेको बताएका छन् । त्यसको जवाफमा सत्य नाडेलाले उक्त पैसाको काम केवल एआईलाई अतिरञ्जित गर्नका लागि नभइ दुनियाका लागि काम लाग्ने चिज बनाउनका लागि रहेको बताएका छन् ।
प्रतिक्रिया 4