+

पेटको मात्रै होइन घाँटीमा पनि हुन्छ ग्यास्ट्रिक, कसरी थाहा पाउने ?

२०८१ माघ  १७ गते २०:३९ २०८१ माघ १७ गते २०:३९
पेटको मात्रै होइन घाँटीमा पनि हुन्छ ग्यास्ट्रिक, कसरी थाहा पाउने ?

१७ माघ, काठमाडौं । हामीलाई लाग्छ, ग्यास्ट्रिक भन्नेबित्तिकै त्यो पेटको रोग हो, यसले पेटमा मात्रै समस्या देखाउँछ। पेटको मात्रै नभई घाँटीको पनि ग्यास्ट्रिक हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । घाँटीको ग्यास्ट्रिकका लक्षणहरूको अनुभव धेरैले गरिरहेका हुन्छन् । यो समस्याबारे ज्ञान नहुँदा यस्ता लक्षण देखा परेपछि बिरामीले अन्य रोगसँग जोडिरहेका हुन्छन् । घाँटीमा मात्रै छुट्टै हुने भन्दा पनि पेटको ग्यास्ट्रिक बढेर घाँटीमा असर गर्ने हो ।

कस्ता लक्षण देखिन्छन् ?

मुख्य गरी यसमा घाँटीमा केही अड्किरहेको, कपालको रौँ अड्किएको जस्तो अनुभव भइरहन्छ । खाना खाँदा, पानी खाँदा केही समस्या हुँदैन तर त्यत्तिकै बसिरहँदा थुक निल्दा केही आएर घाँटीमा बसेजस्तो हुन्छ।

हाम्रोमा उपचार गर्न आउने बिरामीहरू ‘मलाई के भो डाक्टरसाब, केही सानो कुरा अड्किएको छ घाँटीमा’ भन्दै आउनुहुन्छ । केही बिरामीहरू घाँटीको पछाडि भागमा केही डल्लो, गाँठो बसेको छ भन्दै आउनुहुन्छ ।

केही बिरामी घाँटी पोल्ने, पोलिरहने समस्या लिएर आउनुहुन्छ । यो कुरालाई नबुझेर कति बिरामी मलाई टन्सिल भइरहेको छ, टन्सिलको औषधि खाइरहेको छु तर पनि ठिक भएन भन्दै आउनुहुन्छ । धेरै चिल्लो, पिरो खाएको दिन या भोलिपल्ट घाँटी ख्याप्प समात्ने, पोल्ने अनुभव लिएर पनि हामीकहाँ आउनुहुन्छ । यसबारे थाहा नभएर घाँटीको क्यान्सर भयो कि वा कुनै ट्युमर पलायो कि भनेर शंका पनि बिरामीले गरिरहेका हुन्छन् ।

कसरी थाहा पत्ता लगाउने ?

यस्ता अनुभव लिएर आउने बिरामीहरूलाई सबैभन्दा पहिला हामीले जाँच गरेर घाँटीको ग्यास्ट्रिक हो कि होइन यकीन गर्छौँ । कसै-कसैलाई थाइराइडको समस्याले पनि यस्ता लक्षण देखिएको हुन्छ । कहिले कहीँ कुनै भिटामिनको कमीले पनि यस्तो हुनसक्छ ।

एउटा रगतबाट गर्ने परीक्षण हुन्छ, अर्को परीक्षण भनेको घाँटीको इन्डोस्कोपी गर्ने हो । यसमा नाकबाट एउटा सानो पाइप हालेर घाँटीसम्म हेर्छौँ । यसपछि घाँटीको ग्यास्ट्रिक हो कि होइन पत्ता लाग्छ ।

उपचार कसरी गर्ने ?

त्यसको पनि तह हुन्छ । कसलाई कुन तहको घाँटीको ग्यास्ट्रिक भएको छ, त्यो अनुसार उपचार गर्छौँ । उपचार भनेको विभिन्न खालका औषधि दिने नै हो । कतिपय औषधिहरू पेटको ग्यास्ट्रिक र घाँटीको ग्यास्ट्रिकमा एउटै खालका पनि हुन्छन् । फरक औषधिहरू पनि हुन्छन् ।

घरेलु उपचार के हुनसक्छ ?

एउटा त पेटको ग्यास्ट्रिकबाट बच्ने उपायहरू नै घाँटीको ग्यास्ट्रिकबाट जोगिने उपाय हुन् । तौल धेरै छ भने तौल घटाउने पर्छ । दुब्लोमा भन्दा मोटो मान्छेलाई यो समस्या बढी हुन्छ । नियमित व्यायाम गर्ने, चिल्लो, पिरो कम खाने गर्नुपर्छ । बेलुका सुत्नु भन्दा केही घण्टाअगाडि नै खाना खाने, खाना खानेबित्तिकै ओछ्यानमा नपल्टने यस्तो कुरामा ध्यान दिनुपर्छ।

घाँटीको ग्यास्ट्रिक
डा. योगेश न्यौपाने
लेखक
डा. योगेश न्यौपाने
नाक, कान तथा घाँटीरोग सर्जन

डा. न्यौपाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ईएनटी तथा हेड एण्ड नेक सर्जरी विभागका सहायक प्राध्यापक हुन् । उनले नाक कान तथा घाँटीरोगमा एमबीबीएस र नाक कान घाँटीरोग सर्जरीमा एमएस गरेका छन् । उनी सोसाइटी ओटोलारिन्गोलोजिस्ट अफ नेपाल, अमेरिकन एकेडेमी अफ ओटोलारिन्गोलोजी र न्युरोटोलोजिकल एण्ड इक्विलिब्रोमेट्रिक सोसाइटीका सदस्यसमेत हुन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर […]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय