
१७ माघ, काठमाडौं । लघुवित्त कम्पनीहरूले धमाधम दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अपरिस्कृत सार्वजनिक वित्तीय विवरणमध्ये अधिकांशको रिपोर्ट सुधारिएको छ । हालसम्म १४ माइक्रोफाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
सार्वजनिक १४ कम्पनीको वित्तीय विवरणअनुसार ८ को नाफा बढेको छ । दुई कम्पनी नोक्सानीमा छन् । भने बाँकी ४ कम्पनीको नाफा घटेको छ ।
समग्रमा सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीहरूको नाफा बढेको छ । यी १४ माइक्रोफाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष ६ महिनामा ३९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो आवको ६ महिनामा ४७ करोड ६२ लाख रुपैयाँ कमाएका छन् ।
कम्पनीहरुको नाफाका साथै निष्क्रिय कर्जामा समेत सुधार देखिएको छ । पुस मसान्तसम्म कुल कर्जामा यी १४ लघुवित्तको औसत निष्क्रिय कर्जा ५.५९ प्रतिशत देखिएको छ । गत वर्षको पुसमा यिनै कम्पनीको औसत निष्क्रिय कर्जा ६.२२ प्रतिशत थियो ।
माघ मसान्तसम्म सबै लघुवित्त कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नेछन् । सबै लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि नै नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न भनेको छ । हाल राष्ट्रियस्तरका लघुवित्त कम्पनीहरुले मात्रै ‘एनएफआरएस’ अनुसार वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् ।
प्रतिक्रिया 4