७ माघ, काठमाडौं । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो ।
पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गर्दै २५–१८ र २५–२३ ले आफ्नो पक्षको पारेको थियो ।
चौथो सेटमा भने सुनिल भलिबल क्लबले पुनरागमन गर्दै २५-२३ ले आफ्नो पक्षमा पार्दै खेल २-२ को बराबरीमा पुर्यायो ।
त्यसपछि पाँचौं तथा निर्णायक सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १५–१२ ले सेट आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
जिपतछि आर्मीले २ खेलबाट ४ अंक जोड्दै ‘जित्ने समूह’ बाट आर्मी पहिलो र ३ अंक जोडेको पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका छन् ।
२ खेलबाट १ अंक जोडेको सुनिल क्लब तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो ।सुनिल भलिबल क्लबले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
हार्ने समूहमा रहेको गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब आजै हुने खेलको विजेताले एलिमिनेटर खेल्नेछ ।
यसअघि बिहीबार बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि एपीएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया 4