१७ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा आइतबारदेखि जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत आठौं चरणको खेल सम्पन्न हुँदा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधिनजिक पुगेका छन्।
२५औं पुरूष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले सिएम नवीन तण्डुकारलाई पराजित गर्नुपूर्व युवा पुरुषोत्तम सिलवालसँग बराबरी खेल खेलेका थिए।
रौतहटका रुपेश जैसवालले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ वृद्धि गर्न सफल भएका छन्। उनले २०९३ रेटिङबाट खेल प्रारम्भ गरेका थिए।
हेटौंडामा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे ५ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगटेका छन्।
मकवानपुरका क्षितिजले २०९१ रेटिङ स्तरको खेल खेल्दै आफ्नो ६ दशमलव ५ रेटिङ वृद्धि गरेका छन्। उदीयमान पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ वृद्धि गरेका छन्। वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ पर्फोम गर्दै व्यक्तिगत ३२ दशमलव ८ रेटिङ बढाउन सफल भएका छन्।
अन्तिम तीन चरणको खेल बाँकी हुँदा सिएम शुश्रुत दहाल ५ अंक बनाउदै एकल तेस्रो स्थानमा छन्। झापाका शुश्रुतले २०४२ रेटिङ पर्फोम गर्दै व्यक्तिगत ५ रेटिङ वृद्धि गरेका छन्। दोलखाका आशिष् फूँयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलव ५ अंक जोडेर चौथो स्थानमा टिकेका छन्।
यसैगरी दशौं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरी पुन: उपाधितर्फ बढेकी छिन्। काठमाडौंकी सिन्दिराले ६ दशमलव ५ अंक जोड्ने क्रममा पाँच जीत र तीन खेल बराबरी खेलेकी छिन्।
नयाँ उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरी र काठमाडौंकी एञ्जल महर्जन दुवैले समान ६ – ६ अंक जोडेका छन्। संयुक्त दोस्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार, पाँच जीत र दुई खेल बराबर खेलेकी हुन्। यस्तै युवा एञ्जलले दुई खेलमा हार व्यहोर्दा ६ वटा खेल जितेकी छन्।
मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जीत गर्ता गर्दै ५ दशमलव ५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएकी छन् भने कीर्तिपुर काठमाडौंकी बिनिता कपालीले तिन हार र पाँच खेलमा जीत हासिल गरेकी छन् ।
प्रतिक्रिया 4