
काठमाडौं । गायक रामकृष्ण ढकाललाई उनको जन्मथलोमा ‘गायन सम्राट’ उपाधिबाट सम्मान गरिएको छ । सुगम संगीतका लोकप्रिय गायक रामकृष्णलाई बुधबार उनको जन्मथलो बाराको निजगढमा आयोजित ‘प्रथम निजगढ महोत्सव’मा उक्त उपाधिबाट सम्मान गरिएको हो ।
निजगढ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सांगीतिक प्रस्तुति दिन रामकृष्ण बुधबार निजगढ पुगेका थिए । निजगढ नगरपालिका, निजगढ उद्योग वाणिज्य संघ, निजगढ टाइम्स लगायतले गायक ढकाललाई सम्मान गर्दै ‘गायन सम्राट’ उपनाम दिएका हुन् ।
दोस्रो पटक आफ्नो जन्मभूमिमा प्रस्तुति दिन पुगेका रामकृष्णलाई हेर्न र सुन्न हजारौं स्थानीय संगीतप्रेमी उपस्थित भएको निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
कार्यक्रममा रामकृष्णले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, मन पराउने हजार, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ओराली लागेको लगायत आफ्ना एक दर्जन लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।
गीत गाउने क्रममा उनले निजगढसँगको आफ्नो सम्बन्ध र बाल्यकालबारे पटकपटक चर्चा गरेका थिए । ‘त्यतिबेलाका धेरै घटनाहरू अहिले त विस्मरणमा पनि पुगिसके,’ उनले भने, ‘तर जहाँ पुगे पनि निजगढको माटोको भने सधैं सम्झना आइरहन्छ ।’
उनले जन्मस्थानमा आएर फेरि कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे । सानै उमेरमा जन्मस्थान छोडेर अन्यत्र लाग्नुपरेकोमा दुःखमनाउ पनि गरे । रामकृष्ण निजगढ नगरपालिका-६ मा जन्मिएका हुन् ।
‘पहिले काठको सानो थियो,’ आफू जन्मेको घर सम्झिंदै रामकृष्णले भने, ‘म त्यही आँगन र पिंढीमा खेलेर हुर्केको हुँ ।’ २०३५/०३६ सालमा निजगढको घरघडेरी बिक्री गरेर सिमरा सरेको उनको परिवार त्यसपछि चितवनको जुगेडीमा बसाइँ सरेको थियो । उनले बिहीबार आफ्नो जन्मघर पनि हेरे ।
प्रतिक्रिया 4