१७ माघ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज कबड्डी लिग नेपाल कबड्डी लिग(एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाईट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
फाइनलखेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुनेछ । फाइनलअघि बिहीबार भएको प्रि फाइनल म्याच कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि तयार रहेको बताएका छन् ।
जनकपुरका मुख्य प्रशिक्षक पार्वती राईले फाइनलका लागि तयार रहेको बताउँदै अपराजित यात्रालाई निरन्तरता दिने बताइन् । राष्ट्रिय महिला टिमकी मुख्य प्रशिक्षक समेत रहेकी राईले आफ्नो मिहिनेतले यहाँसम्म आइपुगेको बताइन् ।
उनले पुरुष टिमको प्रशिक्षक हुँदा चुनाैती नभएको बताइन् । जनकपुरका कप्तान रामु टमाटाले पनि फाइनलका लागि तयार भएको र राम्रो खेल्दै उपाधि जित्न प्रयास गर्ने बताए ।
काठमाडौंका प्रशिक्षक सरोज कुमार सिंहले फाइनलको लागि तयार रहेको र रणनीति अनुसार खेल्ने बताए । राष्ट्रिय टिमकै कप्तान घनश्याम मगर हुँदा काठमाडौंको टिमको मनोबल पनि उच्च छ ।
कप्तान घनश्यामले प्रो कबड्डी जितेर आएपनि आफूले कुनै दबाब नलिने र प्रशिक्षकको रणनिति अनुसार खेल्ने बताए । कप्तान घनश्यामले अहिलेसम्मको खेल राम्रो भएको र अब फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
दुवै टिमका प्रशिक्षकले फाइनलका लागि योजना बनाएपनि रणनीति खुलाउन चाहेनन् ।
जनकपुरले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । लिग चरणमा शीर्ष स्थानमा रहेको जनकपुरले पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराएर फाइनल प्रवेश गरेको थियो ।
यस्तै काठमाडौंले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लिग चरणमा तेस्रो भएको काठमाडौंले त्यसअघि एलिमिनेटरमा धनगढी वाईल्डक्याट्सलाई हराएको थियो ।
काठमाडौं लिग चरणमा विराटनगरसँग मात्र हारेको थियो । तर क्वालिफायरमा विराटनगरविरूद्ध नै बदला लिँदै काठमाडौंले फाइनलमा जनकपुरसँग भेट पक्का गरेको हो । जनकपुर र काठमाडौंबीच लिग चरणको खृल भने ३९-३९ को बराबरीमा सकिएको थियो ।
राष्ट्रिय टिमका कप्तान समेत रहेका काठमाडौंका मार्की तथा कप्तान घनश्याम मगरले शानदार प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया 4