
१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिध सभा सदस्य स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी सभापति रवि लामिछानेको उपस्थिति खोजेका छन् ।
अधिवेशनको पहिलो दिन शुभकामना सम्बोधन गर्ने क्रममा उनले लामिछानेको खोजी गरेका हुन् ।
‘यो सम्मानित सदनमा आज एउटा विशेष अनुपस्थिति छ । नेपालको संसदीय इतिहासमा ५०/५० हजार मत ल्याएर दुई/दुई पटक विजयी भएका चितवन क्षेत्र नम्बर दुईका सांसद, हाम्रो पार्टीका सभापति रवि लामिछाने आज यहाँ उपस्थित हुनुहुन्न,’ वाग्लेले आफ्नो सम्बोधनको सुरुमै भने ।
सम्पति शुद्धीकरण ऐनको एउटा दफामा टेकेर निलम्बित गरिएको भन्दै उनले त्यसप्रति आफूहरुको आपत्ति रहेको बताए । यसको कानुनी उपचार खोजिने उनले बताए ।
लामिछानेको हकमा राजनीतिक प्रतिशोध लिइएको पनि उनले आरोप लगाए ।
‘रवि लामिछानेमाथि सिंगो राज्यसक्ति प्रतिसोध र पूर्वाग्रहका साथ खनिएको छ । अदालतमा बिचाराधीन विषयमा म धेरै बोल्दिन, बोल्न हुँदैन’ उनले भने । न्यायिक विवेकप्रति आफ्नो पार्टीको भरोसा रहेको उनले बताए ।
२० वर्ष अगाडि २०६१ सालमा साही आयोग बनाएर हाल रहेका सबै नेतालाई जेल लैजान खोजिएकोमा न्यायलयले त्यस्तो गलत मनसायसहितको कामलाई खारेज गरिदिएको बताए । लामिछानेको हकमा पनि त्यस्तै गर्न खोजिएको उनले बताए ।
८४ दिन सम्म हिरासतमा राखेर मुद्दा अगाडि बढाउने विषय प्रतिशोध बाहेक केही नभएको बताए । लामिछानेलाई दोषी करार गराउनकै लागि अध्यादेश ल्याइएको आरोप लगाए । दुःख दिनका लागि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पुर्याइएको भन्दै उनले आफूले खनेको खाल्डोमा आफैँ पर्न सक्ने ख्याल गर्न पनि नेताहरूलाई उनले चेतावनी दिए ।
प्रतिक्रिया 4