
१८ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको आफ्नै घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले अहिले दैनिक दुई हजार युवाहरू विदेश गइरहेको उल्लेख गरे ।
मुलुकलाई पुँजीवादले नांगो प्रहार गरिरहेको उनको भनाइ थियो ।
‘आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दा दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिँढी बाहिर गइरहेको छ । यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ?,’ उनले भने ।
मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको उनले बताए ।
अहिले खाडि र विकसित देशहरूबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे । जनतामा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने पनि उनले बताए ।
‘देशमा पुँजीवादले नांगो आक्रमण गर्यो । भएका उद्योग र कलकारखानाहरू सबै सखाप अनि नयाँ पिँढीलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं,’ केसीले भने, ‘अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो ।’
प्रतिक्रिया 4