+
+

गोरखाका किसान व्यावसायिक कफी खेतीप्रति आकर्षित

विकास मरहट्टा विकास मरहट्टा
२०८१ माघ १९ गते १३:२१

१९ माघ, गोरखा । यहाँका किसानहरू व्यावसायिक कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । विशेष गरी शहीद लखन र गण्डकी गाउँपालिकाका किसानहरुले व्यावसायिक रुपमा कफी खेती सुरु गरेका छन् ।

दुवै पालिकामा गरी कुल ६४८ रोपनी क्षेत्रफलमा कफी लगाइएको छ । अरबिका जातको ६४ हजार बढी विरुवा रोपिएका छन् । ४५ वटा कृषक समूहलाई समेटेर खेती विस्तार गरिएको हो ।

जाइकाको आर्थिक सहयोग र आम्दा माइन्ड्सको प्राविधिक सहयोगमा माया प्रेम स्मृति प्रतिष्ठानले किसानहरुलाई आवश्यक सहयोग र सहजीकरण गरिरहेको छ ।

प्रतिष्ठानद्वारा संचालित पेशा परियोजना अन्तरगत किसानहरुलाई अनुदानमा विरुवा उपलब्ध गराइएको हो । ‘७० प्रतिशत अनुदानमा कफीको बिरुवा दियौं,’ परियोजनाका प्राविधिक सुपरभाइजर नविन धितालले भने, ‘ठाउँ छनोटदेखि माटो परीक्षणसँगै प्राविधिक पाटोमा पनि संस्थाले सहयोग गर्दै आएको छ ।’

सिंचाइमा ७० प्रतिशत अनुदान उपलब्ध गराएको बताउँदै उनले आवश्यक उपकरण तथा मेसिन खरिदमा समेत सहयोग गर्दै आएको जानकारी गराए । ‘हामीले किसानहरुलाई प्रशोधन मेसिन, काटछाट गर्ने औजार र सिंचाइका लागि प्लाष्टिक पोखरी पनि सहयोग गर्दै आएका छौ,’ उनले भने ।

उनका अनुसार दुई वटा पालिकामा दश वटा प्रशोधन केन्द्र स्थापना भएका छन् । शहीद लखनमा ७ र गण्डकी गाउँपालिकामा ३ वटा केन्द्र स्थापना भएको उनले बताए । ‘केन्द्रमा पल्पिङ मेसिन राखिएको छ, यसले कफीको रातो दानाको बोक्रा छुट्याउने काम गर्छ र त्यो दानालाई सुकाउने ड्रायर मेसिन पनि छ,’ धितालले भने । उनका अनुसार ड्रायरमा सुकेको दानालाई किसानहरुले बजारमा बेच्ने गर्छन् ।

सन् २०२१ देखि २०२४ सम्म पाइलट प्रोजेक्टको रुपमा गोरखाका दुई पालिकामा यो परियोजना लागू गरिएको थियो । २०२४ मार्चबाट थप किसानहरुलाई समेटेर परियोजनालाई निरन्तरता दिइएको छ । ‘यसअघि २०० कृषकलाई समेटेर परियोजना लागू गरेका थियौं,’ आम्दा माइन्ड्सका कार्यक्रम व्यवस्थापक गौतम बजगाईंले भने, ‘अहिले करिव ७ सय कृषकहरु समेटिनुभएको छ ।’

कतिपय कृषक समूहले कफी उत्पादन गरेर बेच्न समेत सुरु गरिसकेको उनले जानकारी दिए ।

गण्डकी गाउँपालिका दर्वुङका चेतबहादुर थापाले गत वर्षबाटै कफी बेच्न थालिसके । ‘पहिलै पनि कफी लगाएको थिए, बिक्री नभएर बोटहरु काटिदिए,’ उनले भने, ‘यो संस्थाले सहयोग गरेपछि फेरि लगाउन थाले, गत वर्ष अलिअलि बेचे पनि ।’ गत वर्ष प्रतिकेजी ६०० रुपैयाँमा कफी बिक्री गरेको उनले सुनाए । बजारको अहिले कुनै समस्या नभएको उनी बताउँछन् । आफूसँगै बुवा र भाइले पनि कफी खेती विस्तार गरेको उनले जानकारी गराए ।

यता शहीद लखन गाउँपालिका बक्राङका कटक अर्यालले पनि कफी खेतीबाट आम्दानी लिन थालिसके । संस्थाले सहयोग गरेपछि गाउँमा कफी खेती गर्नेहरु बढेको उनले बताए ।

संस्थाको सहयोग पश्चात व्यवसायिक रुपमा कफी खेती गर्ने किसानहरु बढेको संस्थाका बजगाईं बताउँछन् । ‘पहिले कफी फलाउने मात्र थियो, अहिले व्यापारीहरुसँग बेच्न थालेका छन्,’ उनले भने, ‘बजार पाएपछि व्यवसायिक खेती गर्ने किसानहरु पनि बढेका छन् ।’ परियोजना लागू भएपश्चात मात्रै करिव डेढ सय जना किसानहरुले व्यावसायिक रुपमा कफी खेती थालेको उनले जानकारी दिए ।

उनका अनुसार विरुवा रोपेको साढे दुई वर्षपछि उत्पादन दिन थाल्छ । एउटा बोटमा वार्षिक सात किलोसम्म कफी उत्पादन हुन्छ । कात्तिकदेखि वैशाखसम्मको समयलाई कफी टिप्ने सिजनको रुपमा लिइन्छ ।

केही समयअघि शहीद लखन गाउँपालिकामा भएको कृषि प्रदर्शनीमा कफी प्रदर्शनी तथा कफी खेती बारेमा जानकारी समेत गराइएको थियो । बारपाक सुलिकोट गाउँपालिका र पालुङटार नगरपालिकाका किसानहरु पनि व्यवसायिक रुपमा कफी खेतीमा सक्रिय छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?