
१९ माघ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् ।
रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा शनिबार आयोजित ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा नेपालले विमानस्थल निर्माणमा जोड दिएका छन् ।
व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले निजगढ–काठमाडौँमा ‘फास्ट ट्र्याक’का साथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको बताए ।
स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा मधेश प्रदेश सभाका सांसद सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरीराय यादव र हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सीमा क्षेत्रका जिल्लाहरूमा बसोबास गर्ने नेपाल र भारतका जनताले भोग्दै आएका समस्यालाई समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयको सहभागिता थियो ।
प्रतिक्रिया 4