
२० माघ, काठमाडौं । दाङका बासुराम चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । उमेरले ७१ वर्ष पूरा भएका बासुराम परिवारका सदस्यसँग घरमै आराम गरेर बाँकी जीवन बिताउनुपर्ने बेला चामल, दाल र सिन्की बोकेर काठमाडौं आएका छन्, सरकार गुहार्न ।
स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको ब्यानरमा बासुरामजस्तै थुप्रै नागरिकले नागरिक आइतबारबाट काठमाडौंको माइतीघरमा धर्ना थालेका छन् । ‘बुढेसकालमा छु । छोरानातीलाई पुर्जा सुम्पिएर मर्न पाए हुने, तर सरकारले हामीलाई सधैं झुटो बाचा मात्रै गर्यो । आशा मात्रै देखायो,’ उनको गुनासो छ ।
नियमकानुन बनाउने र देश चलाउने सबैले काठमाडौंलाई मात्र देश ठानेका उनले दैलोमै आएर आफ्नो पीडा सुनाउँदा त कसो नसुन्लान् भनेर यहाँ धर्ना दिन आइपुगेको सुनाए । ‘मेरो बाबुबाजेको पालादेखिको जग्गा हो । कति पुस्ता बितिसके । म पनि बित्ने बेला भो । सरकारले पटकपटक ढाँट्यो । त्यसैले यसपटक अधिकार लिएरै छाड्ने हो भनेर आएका छौँ,’ उनी दृढ सुनिए ।
दाङबाटै धर्ना दिन काठमाडौं आइपुगेकी छिन् ५० वर्षीया रेश्मी चौधरी । दाङमा एक महिनासम्म आन्दोलन गर्दा पनि सरकार टसमस नभएपछि उनी पनि काठमाडौं आएकी हुन् । ‘श्रीमानलाई घर धान्ने जिम्मेवारी दिएर जग्गा पाउने टुंगो भएपछि मात्रै घर फर्किन्छु भनेर आएकी छु,’ उनले सुनाइन् । सरकारले पटकपटक सम्झौता गर्ने, तर बाचा पूरा नगर्ने गरिरहेकाले यसपटक धोका नखाने उनको पनि दृढष्ता छ ।
यी प्रतिनिधि पात्र हुन् । आइतबारबाट माइतीघरमा धर्नामा बसेका सबैको पीडा समान छ । जग्गाको स्वामित्व नहुँदा उनीहरू अन्य कैंयन अधिकार पाउनबाट बञ्चित भएका छन् । यस्तो अन्याय विरुद्ध स्वर्गद्वारी गुठीका मोही किसानले लामो समयदेखि आन्दोलन गरे पनि सुनुवाई भएको छैन ।
संघर्ष समितिका सहसचिव प्रवीण दहित भन्छन्, जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने हामी किसान स्वामित्व नपाउँदा साह्रै अन्यायमा परेका छौं । हामीले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर काठमाडौं आएका हौं ।
मोही किसानहरूले ७ फागुन २०८० देखि एक महिना लामो आन्दोलन दाङमै गरेका थिए । त्यसपछि सरकारसँग गुठी कानुन बनाएर समस्या समाधान गर्ने सहमति भयो । तर, एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन गरिएन । यसबीच किसानहरू पटकपटक काठमाडौं पनि आए । तर, उपलब्धि केही भएन । त्यसैले जस्तोसुकै चुनौती सहेर पनि आन्दोलन नछोड्ने अठोट बोकेर काठमाडौंमा धर्ना थालेको उनीहरू बताउँछन् ।

उनीहरूको मुख्य माग स्वर्गद्वारी गुठीको जग्गा मोही किसानको नाममा रैतानी गर्नुपर्ने रहेको छ । स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौजामा तीन हजार पाँच सय परिवारका करिव १६ हजार जनसंख्या बसोबास छ । कुल एक हजार ५० विघा जमिन गुठी अन्तर्गत छ ।
उनीहरूले गुठी संस्कृति र गुठी जग्गामा मोही किसानको हकलाई नमिसाउन पनि अनुरोध गरेका छन् । नेपालको संविधान २०७२ को दफा २९० मा गुठीसम्बन्धी व्यवस्था छ । जसमा गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा संघीय संसद्ले आवश्यक कानुन बनाउने उल्लेख छ । यही धारामा टेकेर मोही किसानले नयाँ कानुन बनाएर जमिनको पूरा हक दिनुपर्ने माग राख्दै आएका छन् ।
‘पुर्खाले खेतीयोग्य बनाएको जग्गा कानुनत तिनकै सन्तानको नाममा नापिनुपर्थ्याे । तर, नापी हुँदा जग्गाधनी हुनुपर्ने किसानको नाम मोहीमा लेखियो । र जग्गा गुठी बनाइयो । मोहीहरूले आआफ्नो भागको जग्गा जोतखन गर्दै आएका थिए । गुठीलाई तोकिएको कुत बुझाउँथे । सुखदुख निर्वाह भइरहेकै थियो,’ संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले इतिहास खोतले, ‘मोही लागेको र मोहीले नै जोतभोग गरी आएको जग्गा रैतानी गर्ने कार्य देशभर भइरहेको थियो । स्वर्गद्वारी गुठीका मोहीले यस विषयमा चासो राख्न थालेपछि स्वर्गद्वारी गुठीको जग्गा जोगाउन भनेर सर्वोच्चमा निवेदन पर्यो । सर्वोच्चले १४ चैत २०६२ मा स्वर्गद्वारी आश्रमको जग्गामा भूमाफियाको चलखेल भएको भन्दै यसको खण्डीकरणमा रोक लगाइदियो । मोहीको मोहियानी हक पाउनबाट समेत बन्देज गरियो ।’
त्यसयता दाङका स्वर्गद्वारी गुठीका किसानहरू निरन्तर संघर्ष गर्दै आएका छन् । स्वर्गद्वारी गठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष चौधरी आफूले जोतभोग गर्दै आएको जग्गा आश्रम स्थापना हुनुुअघि नै आफ्ना बाबुबाजेले कमाएको तर अहिलेसम्म कानुनी रूपमा आफ्नो भन्न नपाएकाले अधिकारका लागि संघर्ष गरिरहेको बताउँछन् ।
त्यही संघर्षको निरन्तरता स्वरुपमा आइतबारबाट स्वर्गद्वारी गुठीका मोही किसान आन्दोलित भएका हुन् । ७ चैत २०८० मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमा गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका प्रवक्ता प्रवीण थारुले मोही किसानहरूलाई मोही पूर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताउँछन् ।

प्रतिक्रिया 4