
२० माघ, काठमाडौं । अछामको ढकारीमा केही दिनअघि भएको दुई किशोरीको रहस्यमय मृत्यु घटनाको गम्भीर अनुसन्धान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले घटनाको धेरै दिन बितिसक्दा पनि घटनाको रहस्य खुल्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद गंगाकुमारी बेल्बासे र शारदादेवी भट्टले घटनामा संलग्नलाई कारबाही गर्न पनि सरकारसँग माग गरे ।
ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का १२ माघको बेलुकी मृत फेला परेका थिए । शुक्रबार दिउँसो बाख्रा चराउन जंगल गएका दुवै किशोरी हराएका थिए ।
दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेपछि प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
जंगलबाट नफर्किएपछि परिवारले शनिबार साँझ ६ः४० बजे प्रहरीलाई खबर गरेका थिए । भने अनुसन्धानको क्रममा किशोरीसँगै गोठालो गएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
घटनाको नौ दिन बितिसक्दासमेत प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै सांसदहरूले राष्ट्रिय सभामार्फ्त सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु बिडम्बना भएको धारणा राखिन् ।
प्रतिक्रिया 4