
२० माघ, काठमाडौं । पछिल्लो समय काठमाडौंको मुटु मानिने न्यूरोड पुग्ने जो कोही पनि एकछिन टक्क अडिएर यताउति हेरिरन्छन् । यसको मुख्य कारण हो हिमशृङ्खला जस्तो झल्को दिने सेताम्य घरहरू । दुई महिना अगाडिसम्म यस क्षेत्रमा तारैतार, जताततै होर्डिङ बोर्ड, कतै रङ उडेको, कतै लतपतेका घरहरू देखिन्थे, तर अहिले यस क्षेत्रको स्वरूप नै फेरिएको छ । काठमाडौं महानगरपालिका-२४ नम्बर वडाको अनुरोधमा घरधनीहरूले नयाँ रङ लगाएका छन्, त्यो पनि एकै खालको सेतो (ह्वाइट) रङ मात्रै ।
राणाकालीन समयमा यस क्षेत्रका दरबार एवम् घरहरु यस्तै सेतो मात्रै हुने भएकोले अहिले सोही बेलाको झल्को दिने गरी रङरोगनको काम भइरहेको वडा नम्बर-३२ का अध्यक्ष विनोद राजभण्डारी बताउँछन् । राजभण्डारीका अनुसार न्यूरोडमा वडाले आग्रह गरेर घरधनीहरूलै नै रङ लगाइरहेका हुन् ।
‘नेपाल विद्युत् प्राधिकरण, इन्टरनेट कम्पनी लगायतले सो क्षेत्रमा तार भूमिगत गरिसकेको अवस्था छ । अहिले फूटपाथ विस्तारको काम भएको छ । अब यसलाई शृङ्गार गर्नुपर्छ भनेर वडाले छलफल गर्दा घरधनीहरू सकरात्मक हुनुभयो । सोही अनुसार अहिले रङरोगनको काम भइरहेको हो,’ उनी भन्छन् ।
महानगरपालिकाले अहिले न्यूरोड लगायत क्षेत्रमा रैथाने नाम र सोही अनुसारको बोर्ड पनि राखेकाले काठमाडौंको मुख्य क्षेत्रमा आउने आन्तरिक एवम् वाह्य पर्यटकले मौलिकता देख्न पाउने उनले बताए ।
प्रतिक्रिया 4