
२१ माघ, काठमाडौं । आज शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी । आज सरस्वतीको पूजा आराधनाका साथै वसन्त श्रवण गर्ने प्रचलन छ ।
आजका दिन काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको नासल चोकमा वसन्त श्रवणको विशेष समारोह हुने गर्दछ । जहाँ राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिसहित देशका उच्च पदस्थ व्यक्तिहरूलाई वसन्त श्रवण गराइन्छ ।
आज पनि बिहान नासल चोकमा वसन्त श्रवणको औपचारिक कार्यक्रम तय भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार बिहान ७ : ५५ बजे शुभ साइत छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार आज वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेलका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने छन् ।
उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
१२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन हनुमानढोका दरबारमा राष्ट्र प्रमुखलाई सुनाउने प्रचलन छ ।
वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रसरंग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार वसन्त श्रवणको बेला ब्याचली राग बजाउने गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति, समृद्धि मिल्ने विश्वास गरिन्छ । त्यसैले राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य गन्यमान्य, विद्वत व्यक्तित्वहरु भेला भएर वसन्त श्रवण गर्ने चलन छ ।
खनालका अनुसार परापूर्वकालदेखि राजा महाराजाहरुले देश र जनताको अवस्था बुझ्न श्रीपञ्चमीको दिन भेला बोलाउँथे र होलीको दिन खुसियाली मनाउँदै आ-आफ्नो ठाउँमा फर्किन्थे । अहिलेको परम्परा पनि त्यसैको निरन्तरता हो ।
उनका अनुसार श्री भनेको सुरुवात हो । यसै दिनदेखि वसन्त ऋतु प्रारम्भ भएको बताइन्छ । वसन्त ऋतुमा नयाँ पालुवा पलाउने गर्दछ अर्थात् यो जगतले नै नयाँ रुप लिन्छ । यो समय निकै अदभूत, निकै अलौकिक मानिन्छ । वसन्त ऋतुलाई सबैभन्दा महत्वपूर्ण ऋतु भनिएको छ । श्रीकृष्णले पनि ऋतुहरुमध्ये म वसन्त हुँ भनेका छन् ।
त्यसैले श्रीपञ्चमीलाई श्रीदेवी, भूदेवी र वाकदेवीको संगम मानिन्छ । त्यसैले यस दिन कुनै नयाँ काम सुरु गर्ने प्रचलन छ । यस दिनलाई अत्यन्त शुभ मानिने हुनाले विवाह, व्रतवन्ध लगायतका शुभ कार्य गर्न साइत हेर्न नपर्ने विश्वास गरिन्छ ।
प्रतिक्रिया 4