
काठमाडौं । दीपक रौनियारले निर्देशन गर्ने हरेक फिल्मको केन्द्रमा ‘हिरोइनइज्म’ हुन्छ । छोटो फिल्म ‘चौकठी’देखि कथानक ‘राजागञ्ज’सम्म उनले पर्दामा महिलाको भूमिकालाई महत्व दिएका छन् । दीपकका हरेक महिला पात्र पुरुषप्रधान समाज, सत्ता र सोचविरुद्ध मुखर सुनिन्छन् ।
‘चौकठी’मा रञ्जु झा र आशा मगराती शीर्ष भूमिकामा छन् । डेब्यु कथानक ‘हाइवे’मा ऋचा शर्मा, मगराती र सृष्टि घिमिरे प्रस्तुत छन् । ‘सेतो सूर्य’मा मगराती, शारदा अधिकारीले शीर्ष भूमिका निर्वाह गरेका छन् । आगामी कथानक ‘राजागंज’मा त महिला कलाकारको सहभागिताको हिसाबले कीर्तिमान रचिएको छ ।
सहभागिता र प्रस्तुतिकरणमा महिलालाई पर्दामा सीमित तुल्याइने प्रवृत्तिबीच रौनियारले आफ्ना फिल्ममा महिलालाई शीर्षदेखि सहायक भूमिकासम्म विस्तारित गरेका छन् । घरेलु फिल्ममा महिलालाई उनीहरूको दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयत्न दुर्लभजस्तै हो ।
‘राजागंज’मार्फत निर्देशक रौनियारले घरेलु फिल्ममेकिङको यो लैंगिक सोचलाई चुनौति दिने प्रयत्न गरेका छन् । उनको आगामी प्रतीक्षित फिल्म ‘राजागंज’ चैत १ गते प्रदर्शन तयारीमा छ । भेनिस, बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पुरा गरेपछि ‘राजागञ्ज’ घर फर्किएको छ ।
५ अभिनेत्रीको ‘क्यारेक्टर पोस्टर’
फिल्मले सोमबार ५ प्रमुख अभिनेत्रीलाई चित्रण गर्दै क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । जसमा ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव र आरती मण्डललाई चित्रण गरिएको छ । बाँकी दुई शीर्ष अभिनेत्री आशा मगराती र पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डकको पात्र पोस्टर सार्वजनिक गर्ने तयारी छ ।
फिल्मको शीर्ष भूमिका इन्सपेक्टर पूजाको रोलमा आशा चित्रित छिन् । दर्शकले टिजरमार्फत यसअघि उनको लुक्स देखेको हुनुपर्छ । निकिताले इन्सपेक्टर ममताको भूमिका निर्वाह गरेकी छन् ।
ऋचाले हेडमास्टर सविता कोइराला, पशुपतिले मेनुका, गौमायाले रमा, पुष्पाले पत्रकार र आरतीले सरस्वतीको भूमिका निर्वाह गरेकी छन् । नेपाली फिल्मको शीर्षमध्येको भूमिकामा यी ७ महिलालाई चित्रण गर्नु सम्भवतः पहिलोपटक हुनुपर्छ । महिला पात्रलाई ‘स्टेरियोटाइप’ शैलीमा सीमित तुल्याउने प्रवृत्तिलाई कटाक्ष गर्दै दीपकले पर्दामार्फत यो सन्देश दिने प्रयत्न गरेका छन् ।
‘एमिलिया पेरेज’सँग तुलना
यसवर्षको अस्कर अवार्डमा नेटफ्ल्क्सि ड्रामा ‘एमिलिया पेरेज’ सर्वाधिक १३ विधामा मनोनित छ । सम्भवतः फ्रान्सेली फिल्मले अस्करमा यसवर्ष वर्चस्व जमाउने अपेक्षा छ । यस फिल्ममा महिला पात्रलाई जसरी बोल्डरुपमा प्रस्तुत गरिएको छ, यो प्रस्तुतिकरणलाई ‘फिल्म फेस्ट रिपोर्ट’ले ‘राजागञ्ज’सँग तुलना गरेको छ ।
फिल्मको भेनिस समीक्षामा क्रिटिक निखिल अखिलले जसरी ‘एमिलिया पेरेज’मा महिला कलाकारलाई समान श्रेय दिइएको छ, उसैगरि ‘राजागञ्ज’मा पनि यसलाई तुलना गर्नु श्रेयस्कर हुने उनको विश्लेषण छ ।
समीक्षामा लेखिएको छ, ‘ यसवर्ष भेनिस फिल्म फेस्टिभलको सबैभन्दा उल्लेखनीय र हेर्नैपर्ने फिल्ममध्ये एउटामा अचम्मका साथ चम्किरहेको सुटिङको ताराजस्तै, साहसी महिलाहरूको समूहले दीपक रौनियारको सामाजिक–राजनीतिक फिल्मलाई अझ उचाइमा पुर्याउँछ ।’
‘राजागञ्ज’ फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् । यो फिल्म गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार द न्युयोर्क टाइम्सले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया 4