
२३ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था र अवस्था बदल्न धक्का दिने समय आएको बताएका छन् ।
विभिन्न भूगोलमा रहेका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने चिन्ता व्यक्त गरे ।
‘अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो भो’, थापाले भने । गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिवर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए ।
थापाले एजेन्डा स्थापित गर्ने समय अनुकुल भएको भन्दै आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए । ‘एजेन्डा मिल्नेहरू एक ठाउँमा बसेर अघि बढ्नुपर्छ । यो समयको आवश्यकता हो, माग हो,’ उनले भने, ‘संकीर्णता, द्वैध चरित्र र अहंकारले केही समस्या ल्यायो भने पनि मिल्न सक्नेहरूबीच अब एकता प्रक्रिया शुरु गर्नुपर्छ ।’
हिन्दुवादी, राजावादी, देशभक्त र प्रजातन्त्रवादीबीच अब ध्रुविकरण आवश्यक रहेको थापाको भनाइ छ । उनले समान विचार बोक्ने विभिन्न संघ–संस्था, अभियान, पार्टीहरूसँग सल्लाह गरेर निर्णायक आन्दोलनको तयारी गर्ने बताए ।
प्रतिक्रिया 4