+
+

पेन्सनपट्टाले शिक्षकलाई हैरान, मन्त्रीको छड्केमा कर्मचारीका कैरन

अवकासपछि पेन्सनपट्टा बनाउन कितावखाना पुग्ने शिक्षकले सास्ती पाएपछि छड्के गर्न पुगेकी शिक्षामन्त्री विद्या भट्टराईसँग कर्मचारीले नै सुनाए गुनासै गुनासा ।

दिनेश गौतम दिनेश गौतम
२०८१ माघ २३ गते २१:२९

२३ माघ, काठमाडौं । बुधबार दिउँसो सभा १२ बजेतिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको गाडी काठमाडौं तहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक) मा पुग्यो । खबरै नगरी पुगेकाले कर्मचारीलाई मन्त्री आउने थाहा थिएन ।

मन्त्री भट्टराई किताबखानाको शाखा–शाखामा पुगेर फाइल हेर्न र कर्मचारीको समस्या सुन्न थालिन् ।

‘तपाईंहरू डिमोटिभ हुनु भएन,’ मन्त्री भट्टराई कर्मचारीलाई भनिरहेकी थिइन्, ‘तपाईं गलत हुनु भएन । आफूले राम्रो काम गर्ने हो ।’ पेन्सनपट्टा बनाउन आउने शिक्षकलाई अनावश्यक दुःख दिने, कागजात नपुगेको भन्दै घुस माग्ने गरेको गुनासो आउने गरेको छ ।

त्यसमाथि शाखा अधिकृत धनेश्वर प्रसाई तीन लाख रुपैयाँ घुससहित पक्राउ परेपछि मन्त्रीले छड्के गरेकी हुन् ।

मन्त्री पुग्दा कर्मचारीले उल्टै गुनासो सुनाए ।
‘किताबखानाका अरु कर्मचारीले विदेश जाने अवसर पाए । म चाहिँ जान पाएको छैन । कि अरु पनि जानु भएन,’ एक कर्मचारीले आफू विदेश जान नपाएको गुनासो राखे । मन्त्री भट्टराईले आफू पनि विदेश नगएको भनेर ती कर्मचारीलाई सम्झाइन् । ‘म पनि गएको छैन । यहीँ राम्रो काम गर्ने हो नि,’ मन्त्री भट्टराईले उनलाई सान्त्वना दिइन् ।

एउटै कोठाभित्र प्रदेश अनुसार पेन्सनपट्टा बनाउने छुट्टाछुट्टै कर्मचारी छन् । ‘कागज नभई पेन्सनपट्टा बनाउन सकिँदैन । धेरैको कागजात नमिलेर सम्स्या हुन्छ,’ मधेश प्रदेशका शिक्षकको पेन्सनपट्टा बनाउने कर्मचारीले मन्त्रीसँग गुनासो राखे ।

मन्त्री भट्टराईले अब व्यवस्थित बनाउने बाचा ती कर्मचारीसँग गरिन् । ‘अब तपाईंहरूलाई झमेला हुँदैन । अनलाइनमा जानुपर्छ । अनि प्रदेशमा पनि पठाउनुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।

स्थानीय सरकार र शिक्षकबीच समन्वय नहुँदा पछिल्लो समय सिफारिस आउँदा हाजिर गयल भएर आएकाले शिक्षकको पेन्सन पट्टा बनाउन समस्या भएको कर्मचारीहरूले सुनाए । ‘अब व्यवस्थित गर्ने हो,’ मन्त्री भट्टराईले भनिन् ।

किताबखानाका उपमहानिर्देशक युवराज पौडेललाई समस्या के–के छ त्यो ल्याउन मन्त्री भट्टराईले निर्देशन दिइन् । ‘बढीमा कति दिन लाग्छ, कम्तीमा कति दिनमा बनाउन सकिन्छ विधि बनाऔँ । शिक्षकको पेन्सनपट्टा बनाउन धेरै समय लगाउनु हुँदैन । हामीले समकक्षताको पनि छिट्टै हुने मिलायौं । यहाँ किन नसकिने ?,’ मन्त्री भट्टराईले भनिन् ।

कानुनी अड्चन भए आफू फुकाउन तयार रहेको मन्त्री भट्टराईले बताइन् । ‘कानुनी अड्चन हो भने संशोधन गरौं । एउटै समस्या बारम्बार भनेर मात्र हुँदैन । व्यवस्थित गर्न के–के सुधार गर्नुपर्ने हो त्यो ल्याउनुहोस्,’ उपमहानिर्देशक पौडेललाई उनले निर्देशन दिइन् ।

कर्मचारीले खाजा कटौती भएको समस्या पनि सुनाए । ‘टाउको फुट्ने गरी काम गर्नुपर्छ । खाजाको व्यवस्था थियो । अहिले छैन,’ कर्मचारीले भने ।

‘मन्त्रीज्यू ! हाम्रो भौतिक संरचना कमजोर छ । एउटै कोठामा छ । धेरै शिक्षक आउँदा होहल्ला हुन्छ,’ कर्मचारीले भने । प्रदेशमा पठाएपछि यहाँ सहज हुने मन्त्री भट्टराईले आश्वासन दिइन् । ‘केही समय धैर्य गर्नुहोस् । प्रदेशमा जान्छ,’ उनले भनिन् ।

एकपछि अर्को फाइल पल्टाएर उपमहानिर्देशक पौडेलले पनि समस्याका चाङ देखाए । ‘सक्कल बमोजिम हेरेर गर्ने भन्ने नियम छ । शिक्षकले सक्कल कागजात ल्याएको हुँदैन । कागजात पूरा ल्याउने काम सेवाग्रहीको हो । सेवा दिने हाम्रो काम हो,’ उपमहानिर्देशक पौडेलले भने, ‘नियुक्ति, सरुवा बढुवा, रमना, हाजिर लगायतको कागजात चाहिन्छ तर ल्याएको हुँदैन ।’

शिक्षकलाई सहज होस् भनेर परीक्षा नियन्त्रण कार्यालयबाट शिक्षकहरूको जन्ममिति झिकाएर पनि काम गरिरहेको पौडेलले सुनाए ।

‘जन्ममिति मिलाउन शिक्षक पनिका जानु पर्ने हो तर हामीले नै झिकाएर शिक्षकलाई सहजीकरण गरिरहेका छौँ,’ उनले भने, ‘हाम्रो समस्या कसले बुझ्ने ?,’ उनले प्रश्न गरे ।

त्यसपछि मन्त्री भट्टराई अनुगमनका लागि भवनको तल्लो तल्लामा पुगिन् । जहाँ शिक्षकको अभिलेख राखिन्छ । दराजै दराज र फाइलको चाङले कोठा भरिएको थियो । शिक्षकको पेन्सनपट्टाको फाइलले कोठा भरिएको थियो । ‘अब एउटा दराज पनि थप राख्न मिल्दैन । कहाँ राख्ने ?,’ उपमहानिर्देशक पौडेलले भने, ‘बिजोग छ नि ।’ मन्त्री भट्टराईले यो सबै व्यवस्थित गर्न डिजिटलाइजेसनमा जाने बताइन् ।

करिब एक घण्टा मन्त्री भट्टराईले कर्मचारीका समस्या र गुनासा सुनिन् । त्यसपछि बाहिर निस्कनै लाग्दा सेवाग्राही शिक्षकले पनि आफ्ना दुःख सुनाए ।

‘प्रसाईं र ज्ञवालीजीले हप्काएर पठाउनु भएको थियो । कागजात मिलेन भित्र नजानु भनेर । व्यवहार ठीक भएन,’ एक सेवाग्रहीले मन्त्रीलाई भने । ती सेवाग्राहीले भनेका प्रसाईं अख्तियारको फन्दामा परिसकेका छन् ।

किताबखानाको प्राङ्गणमा थिए, जुम्लाबाट पेन्सनपट्टा बनाउन आएका रवीन्द्र मगैया । उनले धेरै दुःख झेलेर काठमाडौं आइपुगेको गुनासो गरे । ‘आजै काठमाडौं अइपुगेको । अब कति दिन लाग्ने हो थाहा छैन,’ उनले भने, ‘यता चिनजानको कोही छैन । होटलमा बस्नुपर्छ ।’

गत १ माघमा रिटार्यड भएका उनी पेन्सनपट्टा बनाउन काठमाडौं आएका हुन् । ‘जिल्लामा वा प्रदेशमा भएको भए यहाँ आउनु पर्ने थिएन,’ उनले भने ।

गत १३ माघमा पेन्सनपट्टाका लागि फाइल दर्ता गरेका सप्तरीका दिलीपकुमार महोतोको पनि समस्या उस्तै छ । कागजात नमिलेपछि उनी सप्तरी गएर एउटा कागजात ल्याए । फेरि अर्को पनि नमिलेपछि उनी दोहोराएर जाने वा के गर्ने भन्ने अन्योलमा थिए ।

‘हिजो कागजात लिएर आएको हो । फेरि नियुक्तिको के मिलेन रे । मेलबाट पठाउन भनेको छु । आएन भने लिन जानुपर्छ । ओहोरदोहोर गर्दा नै हैरानी भयो,’ उनले भने, ‘जिल्लामा भए यतिको दुःख पाइने थिएन ।’

शिक्षकहरूले दुःख पाएपछि डिजिटलाइजेनसको प्रक्रियामा गएको उपमहानिर्देशक पौडेलले बताए । ‘२० हजारको स्क्यान गरेका छौं । २०८४ सम्म रिटार्यड हुने शिक्षकको फाइल उतारेर पहिले नै जानकारी दिन्छौं,’ पौडेलले भने । उनका अनुसार दैनिक ५० वटासम्म शिक्षकको पेन्सनपट्टाको फाइल आउँछ ।’

किताबखानाका अनुसार पछिल्लो ११ वर्षमा ३७ हजार ३ सय ६ जनाले निवृत्तभरण र २ हजार १६ जनाले उपदान लिएका छन् ।

 

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?