
काठमाडौं । अभिनेता विजय बरालले आफू फिल्म हिरो नभएर समाजको चरित्र भएको बताएका छन् । राजधानीमा जारी ह्वाइट हाउस लिट्रेचर फेस्टिभलमा उनले हाँस्दै भने, ‘म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो ।’
लगातार सहायक भूमिकामा अभिनयपछि ‘पूर्णबहादुरको सारङ्गी’बाट मुख्य भूमिकामा आएका उनले अभिनयलाई पढाइले निखारता ल्याउने पनि बताए । ‘अभिनय जन्मजातै हुन्छ । हरेक कुरा अवलोकन गरेर त्यसैको नक्कल गर्नु नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ’ उनले भने ।
अभिनय पनि एक जनरा भएको भन्दै उनले भने, ‘अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहनुभएको छ । मेरो फिल्म पूर्णबहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यही रहेको छ’ उनले भने ।
पहिले सहायक भूमिकामा रहँदा र अहिले मुख्य भूमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभएपनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए । उनले भने, ‘सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भूमिकामा जिम्मेवारीबोध र दबाब महसुस हुने रहेछ ।’
उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए । भने, ‘धेरैले फिल्म चलेपछि भाउ बढेछ भन्छन् तर मैले मागेको हैन, उहाँहरु आफै दिन आउनुहुन्छ ।’
प्रतिक्रिया 4