+

एचपीभी खोप राष्ट्रिय तालिकामा : स्वास्थ्यमन्त्री पौडेल

२०८१ माघ  २४ गते १८:५० २०८१ माघ २४ गते १८:५०
एचपीभी खोप राष्ट्रिय तालिकामा : स्वास्थ्यमन्त्री पौडेल

२४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि आवश्यक एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताए। बिहीबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।

पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा राखी कार्यान्वयनमा आएको उनले बताए ।

योसँगै राष्ट्रिय खोप तालिकामा ११ वटा खोपहरु समावेश गरिएको मन्त्री पौडेलले जानकारी दिए। उनले नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र ४ जना महिलाको यही रोगको कारण मृत्यु हुने स्मरण गराए ।

नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको उल्लेख गर्दै उनले यसको न्यूनिकरणका लागि निश्चित लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए।

डब्लूएचओले सन् २०३० सम्ममा एचपीभी खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्‍याउने रणनीति निर्धारण गरेको र सरकार त्यही रणनीतिको आधारमा अघि बढिरहेको मन्त्री पौडेलले दावी गरे।

पाठेघरको क्यान्सरलाई जनस्वास्थ्यको समस्या नहरने बनाउन सकारले २०३० सम्म तीन वटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको मन्त्री पौडेलले संसदमा जानकारी दिए।

पौडेलका अनुसार तीन स्वास्थ्य गन्तव्यमा एउटा १० देखि १४ वर्षसम्मका ९० प्रतिशत किशोरीलाई एचपीभी खोप लगाउने रहेको छ । दोस्रोमा ३० वर्षमाथि उमेरका कम्तिमा ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने भन्नेछ । तेस्रो लक्ष्य पाठेघरको मुखको क्यान्सर पहिचान भएका कम्तिमा ९० प्रतिशतको उपचार गर्ने रहेको उनले सुनाए ।

लामो इतिहास बोकेको नेपालको खोप कार्यक्रम २०३४ सालमा दुईवटा रोग विरुद्धका दुईवटा खोपबाट सुरु भएको मन्त्री पौडेलले जानकारी दिए । राष्ट्रिय खोप तालिकामा हाल ११ वटा खोपहरु समावेश गरिएका छन् । यसबाट विभिन्न १४ वटा रोगबाट सुरक्षा प्रदान भएको पनि उनले बताए ।

विश्वमा रहेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र सन् २०३० सम्ममा यो संख्या वृद्धि भएर ७ लाखसम्म पुग्ने अनुमान गरिएको समेत मन्त्री पौडेलले उल्लेख गरे ।

एचपीभी प्रदिप पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय