+
+

नेहा र सत्यन्द्रबारे संसद्‌मा चर्को बहस, बोलेनन् छविलाल

सामाजिक न्यायका निम्ति विधार्थी राजनीति हुँदै मूलधारमा स्थापित दलित समुदायका राजनीतिज्ञ छविलाल विश्वकर्मा भने यो विषयमा मौन रहे ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ माघ २४ गते २२:०५
बिहीबार बसेको प्रतिनिधिसभा बैठक

२४ माघ, काठमाडौं । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विवाहको प्रसंग बिहीबार संघीय संसद्‌मा चर्कोसँग उठ्यो । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका दलित सांसदहरू एक स्वरमा प्रस्तुत भए ।

प्रतिपक्षमा रहेका गैरदलित सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति उल्लंघन हुन नदिन सरकारको ध्यानाकर्षण गरे ।

बिहीबार संसद्‌मा यो विषय प्रवेश गराइन्, कांग्रेस सांसद शान्ति विकले । सत्तारुढ कांग्रेसकी सांसद विकले बैठकको सुरुमै आकस्मिक समय लिएर यो विषय उठाइन् ।

‘म त्यसै समुदायबाट आएको र प्रतिनिधित्व गर्ने सांसद भएकाले यो मेरो कर्तव्यको विषय पनि बन्यो,’ उनले भनिन्, ‘जुन अन्तरजातीय विवाहमा सत्यन्द्रको जोडीमाथि गरिएको बर्बरता क्रुरता छ, त्यो क्रुरता हामी ६० लाख दलितमाथि पर्न गएको चोट हो ।’

विवाह दर्ता गरिसकेको अवस्थामा बाल विवाहको मुद्दा दर्ता गरेर दुःख दिने कार्य गलत भएको भन्दै उनले यसमा सरकार जिम्मेवार हुनुपर्ने बताइन् । ‘यो घटनाले ६० लाख जनताको अपमान गरेको छ,’ उनले भनिन् ।

नेकपा एमालेकी सांसद हर्कमाया विकले यो घटनालाई लिएर सरकारको आलोचना गरिन् । उनले भनिन्, ‘सत्यन्द्र कुमार र नेहालाई अन्तरजातीय विवाह गरेकै कारण राज्यबाट गरिएको ज्यादतिप्रति घोर भ्रत्सना गर्न चाहन्छु र उनीहरूलाई न्यायको माग गर्न चाहन्छु ।’

यो ‘घटनामा संलग्नलाई सरकारले संरक्षण गरेर पीडितलाई अन्याय गरेको’ भन्दै उनले ‘विवाह दर्ता गरिसकेको जोडीको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग गरिएको र सम्बन्ध छुट्याउन खोजिएको’ भनेर आपत्ति जनाइन् ।

उनले दोहोर्‍याइन्, ‘यो घटना नेपालको कूल १४ प्रतिशत जनसंख्या माथिको घोर अपमान हो ।’ सांसद विकले प्रहरी मात्रै नभएर अदालतबाट समेत लापरबाही भएको र यस्तो कार्यमा राज्य शक्तिको दुरुपयोग भएको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले एउटा मानवले अर्को मानवलाई गरेको अपमानबारे संसद्मा बहस गर्नुपर्दा दुःख लागेको बताए । आकाशमा नयाँ संसार बसाल्ने होडबाजीमा विश्वका कैयन देश रहेका बेला नेपालको संसद्‌मा अन्तरजातीय विवाहलाई रद्द गराउन राज्य शक्ति नै लागेको सुन्नु परेको भन्दै उनले सरकारलाई प्रश्न गरे ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठक

बरालीका अनुसार सत्यन्द्र कुमार र नेहा विवाह गरी गत मंसिर २१ गते भारत घुम्न गएका थिए । उक्त जोडीलाई पक्राउ पुर्जी जारी गरी प्रहरी पठाएर सरकारले नै पक्राउ गरेको उनले बताए । जबकी गम्भीर अपराधीलाई पक्रन मात्रै प्रहरीलाई विदेश पठाउने गरिन्छ ।

‘जीबी राईजस्ता मान्छेलाई पक्रन नसक्ने प्रहरी प्रशासनले निरीह दलित दम्पतीलाई पक्रेर बडो बहादुर देखायो,’ बरायली भन्छन्, ‘विवाह दर्ता भइसकेपछि बाल विवाहमा, मानव बेचबिखनमा, लागूऔषध ओसारप्रसार जस्ता झुटा मुद्दा लगाएर ज्यादती गर्ने काम भएको छ ।’

दुवैको उमेर पुगेको भनेर फैसला हुँदा समेत दुःख दिने काम भएको भन्दै उनले जीवन सुरक्षाको माग गरे । असुरक्षाकै कारण भूमिगत बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको माग थियो ।

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव परियारले पनि कानुनी रुपमा वैध भइसकेको विवाहलाई रद्द गर्न राज्य शक्तिको दुरुपयोग हुनुले आफूहरूको शिर निहुरिएको बताए ।

‘के सरकार संविधान भन्दा माथि हो ? सरकारले दलित समुदायको संविधान प्रदत हकको रक्षा नगर्ने हो ?,’ उनले प्रश्न गरे, ‘सरकारले जातीय विभेदलाई स्थापित गर्ने हो ?’

उनले यो विषयमा निष्पक्ष छानबिनको माग गरे ।

विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद अनिसा नेपालीले सत्यन्द्र कुमार र नेहाको सम्बन्ध तोड्न राज्य नै लाग्नु खेदजनक रहेको बताइन् । ‘के दलित मान्छे होइनन ?’ उनले प्रश्न गरिन्, ‘यो मानवअधिकार विरोधी घटना हो ।’

अर्को विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले अन्तरजातीय विवाह गरेकै कारण राज्यले दुःख दिएको भन्ने सुनिनु सबैका लागि लज्जाको विषय भएको बताए । विभेदका विश्रद्ध लडेकाहरूबाटै विवेभदलाई मलजल गर्ने गरी व्यवहार भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

सत्तारुढ कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रमेश लेखकको नामै लिएर जवाफ मागे ।

जवाफ दिँदै गृहमन्त्री रमेश लेखक

‘…सर्लाही बरहथवाका सत्यन्द्र कुमार र नेहा रौनियारको प्रेम सम्बन्ध पछिको विवाहका बारेमा समाचार आयो । यसमा गृहमन्त्री र प्रहरी प्रशासनप्रति समेत प्रश्नहरू गरिएका छन् । जवाफ चाहन्छु,’ सांसद परियारले भने ।

कांग्रेसकै सांसद आशा विकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था समेत जातीय विभेद भयो भनेर संसदमा छलफल गर्नुपर्ने अवस्था आउनु निन्दनीय रहेको बताइन् ।

‘सर्लाहीको घटनाले आज सदन पनि र देश पनि तातेको छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘अहिलेको अवस्थामा पनि दलित समुदायमाथि यस्तो घटना हुँदा सदनमा भएका सम्पूर्ण माननीयहरू र सम्पूर्ण नागरिकहरूको शिर निहुरिएको छ ।’

अन्य सांसदहरूले पनि सत्यन्द्र कुमार र नेहालाई अन्तरजातीय विवाह गरेकै कारण दुःख दिने कार्य भएको भनेर सरकारको ध्यानाकर्षण गरे । तर, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा भने यो विषयमा मौन रहे ।

सांसद विश्वकर्मा बिहीबार संसद् बैठकमा बोल्दै नबोलेका होइनन् । शून्य समय लिएर उनले सीमावर्ती क्षेत्रमा रहेको समस्या उठाए । ‘सीमावर्ती क्षेत्रका जनताहरू आवतजावतदेखि लिएर धेरै विषयमा आक्रान्त बनेका छन्,’ उनले भने ।

सीमावर्ती क्षेत्रमा नागरिकले अति आवश्यक सामग्रीहरू ल्याउँदा समेत सुरक्षा निकायबाट अप्ठ्याराहरू/असजिलाहरू बेहोर्न बाध्य रहेको बताए । ‘हामीले सम्झनुपर्छ कि– जो सीमावर्ती क्षेत्रका जनताहरू बिना बर्दीका प्रहरी हुन् । जसले अप्ठ्यारो सहेर सीमामा भूगोलको, आफनो माटोको रक्षा गरिरहेका हुन्छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ’ सांसद विश्वकर्माले अगाडि भनेका छन् ।

तर, एमालेको सचिव समेत रहेका सांसद विश्वकर्मा सत्यन्द्र कुमार र नेहाले अन्तरजातीय विवाह गरेकै कारण पाएको दुःखबारे मौन रहे ।

बिहीबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा

सांसद विश्वकर्मा सामाजिक न्यायका निम्ति विधार्थी राजनीति हुँदै मूलधारमा स्थापित राजनीतिज्ञ हुन् । उनी २०६४ साल देखि संघीय संसद्‌मा छन् । २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद थिए । २०७४ र २०७९ को चुनावमा रुपन्देही-१ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जिते ।

पार्टी पदाधिकारीको जिम्मेवारीका साथसाथै लुम्बिनी प्रदेशको इन्चार्ज, भारत प्रवासको इन्चार्ज लगायतको जिम्मेवारी सम्हालेका विश्वकर्मासँग मन्त्रिपरिषद् सदस्य भएर काम गरेको अनुभव पनि छ ।

उनी दलित समुदायका लागि प्रेरणाका पात्र समेत हुन् । तर, अन्तरजातीय विवाहलाई लिएर बिहीबार संसद्‌मा भएको चर्को बहसमा भने उनी सामेल भएनन् ।

बोल्ने सांसदहरू प्रत्येकले घटनाबारे गृहमन्त्रीको जवाफ मागेका थिए । लगत्तै गृहमन्त्री रमेश लेखक सभामुखसँग समय लिएर बोले । घटनाबारे नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न निर्देशन दिएको स्मरण गरे ।

त्यसअनुसार प्रहरीबाट विवरण सार्वजनिक भएको बताए । तर, यो घटनामा आफूलाई जोडिएकोमा गृहमन्त्री लेखकको असन्तुष्टि छ । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारको नीतिप्रति विगतदेखि प्रतिवद्ध रहेको र भविष्यमा समेत यसमा अडिग रहने प्रतिवद्धता जनाए ।

संसद्‌मा उठेपछि यो विषयलाई झन गम्भीर रुपमा लिएको भन्दै गृहमन्त्री लेखकले थप प्रतिवद्धता जनाए, ‘तथापि त्रुटि देखिए छानबिन गर्न तयार छु । नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?