२४ माघ, पोखरा । दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) टिम च्याम्पियन बनेको छ । ९ विश्वविद्यालय सहभागि प्रतियोगितामा त्रिविले सर्वाधिक १३ स्वर्ण पदक जित्यो । त्रिविले ९ रजत तथा ४ कास्य सहित २६ पदक प्राप्त गरि लगातार दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भएको हो ।
यस्तै ३ स्वर्ण २ रजत र ३ कास्य पदकसहित सुदूरपश्चिम विश्व विद्यालय दोस्रो भयो । मध्यपश्चिम विश्वविद्यालय २ स्वर्ण र ३ रजत पदकसहित तेस्रो स्थानमा रह्यो । सहआयोजकसमेत रहेको गण्डकी विश्वविद्यालयले १ स्वर्ण सहित २ रजत र ५ कास्य पदक हात पार्यो । काठमाण्डौ विश्वविद्यालयले २ रजत र ७ कास्य हात पार्दा पोखरा विश्वविद्यालयले १ रजत ३ कास्य पदक प्राप्त गरेको छ । पूर्वान्चाल २ कास्य, कृषि तथा वनविज्ञान २ कास्य र लुम्विनी विश्वविद्यालयले १ कास्य पदकमा चित्त बुझाएका छन् ।
प्रतियोगितामा कूल चार खेल समावेश थियो । एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष र महिला तथा भलिबलमा पुरुष विधा गरी कूल १९ स्वर्ण पदका लागि प्रतिष्पर्धा भएको थियो ।
विजेता खेलाडी तथा टिम च्याम्पियन टिमलाई गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल, गण्डकी विश्वविद्यालयका रजिष्टर डा. कैलाश तिमल्सिना, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जना श्रेष्ठ, कार्यक्रम संयोजक तथा परिषद् बोर्ड सदस्य डा मधुसुदन सुवेदी, कार्यक्रमका सचिव तथा विभागीय प्रमुख मिनकुमार शर्मा लगायतले रनिङ शिल्ड, टफी मेडल तथा नगद पुरस्कार प्रदान गरे ।
व्याडमिन्टन र टेबलटेनिसमा पनि त्रिवि नै अगाडी
दोस्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसमा त्रिभुवन विश्वविद्यालयले ३ स्वर्ण प्राप्त गरेको छ । उसले २ रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै गण्डकी विश्वविद्यालयले १ स्वर्ण १ रजत र २ कास्य प्राप्त गरेको छ । काठमाण्डौ विश्वविद्यालयले १ रजत तथा ३ कास्य जितेको छ भने पोखरा र पूर्वान्चल विश्व विद्यालयले एक एक कास्य पदक प्राप्त गरेका छन् ।
यस्तै व्याडमिन्टनमा पनि त्रिभुवन विश्वविद्यालय नै अगाडी रहयो । उसले ब्याडमिन्टनमा ४ स्वर्ण र एक रजत जित्न सफल भएको छ । यस्तै पोखरा, लुम्विनी र गण्डकीले एक एक रजत हाल पारे भने काठमाण्डौले ३ कास्य पदक प्राप्त गरेको छ ।
भलिबलमा मध्यपश्चिमान्चल प्रथम
विश्वविद्यालय स्तरको पुरुष भलिबलमा मध्यपश्चिमान्चल विश्व विद्यालय प्रथम भएको छ । मध्यपश्चिमान्चलले त्रिभुवन विश्व विद्यालयलाई पराजित गरेको छ । मध्यपश्चिमान्चल विश्वविद्यालयले २१-२५,२५-१३,२५-१८, २५-२३ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । यस्तै सुदुरपश्चिमान्चल विश्व विद्यालय कृषि तथा वनविज्ञिान विश्व विद्यालयलाई पराजित गर्दै कांस्य जितेको छ ।
तेस्रो संस्करण चितवनमा
तेश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता आगामी वर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले आयोजना गर्ने गरि झण्डा हस्तान्तरण गरिएको छ । कृषि तथा वनविज्ञान विश्व विद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्ण प्रसाद थपलियाले प्रतियोगिता आयोजनाको झण्डा लिँदै अर्को वर्ष चितवनमा भेट गर्न सबै विश्वविद्यालयलाई निम्ता समेत गरेका छन् ।
प्रतिक्रिया 4