+

‘न्युट्रास्युटिकल’ औषधि पसलमा बेच्न कानुनले नरोकेको व्यवसायीको दावी

२०८१ माघ  २४ गते १९:५८ २०८१ माघ २४ गते १९:५८
‘न्युट्रास्युटिकल’ औषधि पसलमा बेच्न कानुनले नरोकेको व्यवसायीको दावी

२४ माघ, काठमाडौं । स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले आफूहरूलाई व्यवसायबाट विस्तापित गराउन खोजेको न्युट्रास्युटिकल व्यवसायीहरूको गुनासो छ । न्युट्रास्युटिकल व्यवसायीहरूको संस्था नेपाल खाद्य न्यूट्रास्युटिकल तथा कस्मस्युटिकल संघले बिहीबार पत्रकार सम्मेलन गरी गुनासो सुनाएको हो ।

नेपालमा यो व्यवसायमा १० हजार परिवार आश्रित रहेको दावी संघका अध्यक्ष सुरेन्द्र मानन्धरले गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले पछिल्ला दिनमा जारी गरेको विज्ञप्तिले १० हजार परिवारको गाँस खोस्न खोजेको आरोप मानन्धरले लगाए ।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि प्रेस विज्ञप्ति जारी गरी औषधि पसलहरूमा न्यूट्रास्युटिकल विक्री नगर्न निर्देशन दिएको थियो । साथै यस्ता न्यूट्रास्युटिकललाई औषधिको रुपमा प्रचार-प्रसार गर्न तथा नागरिकलाई आकर्षित गरिएका कार्य रोक्न भनेको थियो ।

त्यो भन्दा पहिले औषधि व्यवस्था विभागले पनि यस्तै खालको निर्देशन जारी गरेको थियो । यही विषयमा व्यवसायीहरूले आपत्ति जनाएका हुन् । कानुनीरुपमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गराएर बेचिएका सामग्रीलाई गैरकानुनी सामग्रीजस्तो व्यवहार गर्न खोजेको गुनासो संघका अध्यक्ष मानन्धरले गरे ।

औषधि पसलमा न्यूट्रास्युटिकल बेच्न नहुने भनेर औषधि ऐन तथा कुनै ऐनमा उल्लेख नभएको दावी उनको छ । ‘फार्मेसीमा औषिधका रुपमा दर्ता नभएका बच्चाका दूध बेच्न मिल्छ, पानी बेच्न मिल्छ, न्यूट्रास्युटिकल किन मिल्दैन, हाम्रो चाहिँ लागूऔषध हो र ?’ मानन्धरले प्रश्न गरे ।

औषधि व्यवस्था विभागले हालेको मुद्दामा सर्वाेच्च अदालतले यही माघ ३ गते गरेको फैसलालाई समेत गलत व्यख्या गरी प्रचार गरेको आरोप न्यूट्रास्युटिकल व्यवसायीको छ ।

विभिन्न भिटामिनहरू, क्याल्सियम, खनिज आदि खाद्यपुरक सामग्रीहरू औषधिजस्तै चक्की, क्याप्सुल तथा झोलका रुपमा बजारमा आउने गरेका छन् । यसलाई औषधिका रुपमा सिफारिस गरी बिरामीलाई अनावश्यक आर्थिक भार पार्ने गरेको आरोप डाक्टरहरूलाई समेत बेलाबेला लाग्ने गरेको छ ।

केही अस्पतालहरुले यस खालका खाद्यपुरक औषधि सिफारिस नगर्न निर्देशन दिँदै डाक्टरहरूलाई सर्कुलर समेत जारी गरेको थिए ।

व्यवसायीहरूका अनुसार नेपालमा ६ हजार भन्दा बढी प्रकारका न्यूट्रास्युटिकल विक्रि हुने गरेका छन् । भने विदेशबाट यस खालका सामग्री आयात गर्ने व्यवसायीको संख्या करिब पाँच सय छ ।

‍औषधि न्युट्रास्युटिकल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय